सहकारी ठगीमा छविको म्याद चौथो पटक थपियो, रविलाई जति नै सात दिन
दुवैको तिहार हिरासतमै, १५ गते म्याद थप गर्नु पर्ने भए पनि तिहारको सरकारी बिदाका कारण २० गतेमात्र अदालतमा जाने
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ८ बिहिबार
713
Shares
पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई चौथो पटक थप सात म्याद थपिएको छ ।
जिल्ला अदालत कास्कीले थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की प्रहरीलाई अनुमति दिएको छ ।
जिल्ला न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले जोशीलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।
असोज ६ गते काठमाडौंबाट पक्राउ परेका जोशीलाई थिए यसअघि तीन पटक म्याद थप भएर अनुसन्धान जारी छ ।
सुप्रिम सहकारी प्रकरणमा बयानका लागि उनलाई रुपन्देही पुर्याएर बुधबारमात्र कास्की ल्याइएको थियो ।
छविसँगै जोडिएका रास्वपाका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई पनि सात दिन म्याद थपिएको छ । गत शुक्रबार पक्राउ परेका रविलाई यसअघि छ दिन म्याद थपिएको थियो ।
दुवैको समय सात दिन थपिएको भए पनि अब २० गतेसम्म हिरासतमै रहनु पर्नेछ ।
१५ गते अदालतमा म्याद थपका लागि जानुपर्ने भए पनि तिहारको बिदा १५ गतेदेखि नै शुरु हुने भएकाले उनीहरु दुवै जनाकाे तिहार यसपालि हिरासतमै हुने भएको हो ।