arrow

मन्त्रोच्चारणको प्रभाव   

logo
बद्रीप्रकाश ओझा, 
प्रकाशित २०८१ कार्तिक १० शनिबार
badri-ojha-81-7-10.jpg

सामान्यतया पुराना अभ्यासहरु अन्धविश्वास हुन् भन्ने अर्को विश्वास छ । तर्क र अभ्यासलाई हेरेर पुराना अभ्यासहरुलाई अन्धविश्वासको झोलामा हालियो । यस्तै अन्धविश्वासमध्ये मन्त्रोच्चारण पनि एक हो । 

मन्त्र उच्चारण गर्नेले अपनाएको जथाभावी शैली नै यसको महत्व घटाउने पहिलो कदम हो । मन्त्र उच्चारण गर्दै बीचबीचमा अरुसँग गफ गर्ने, गालीगलौज गर्दै मन्त्र जप्ने आदि कारणको यसको गरिमा घटायो । जे उद्देश्यका लागि मन्त्र जपिन्छ, त्यसभन्दा अलग तरिका अपनाउँदा यसको अर्थ रहँदैन । त्यसलाई देख्नेले अन्धविश्वास मानिदिन्छ ।

अमेरिकी हिन्दू विद्धान थोमस आसले फरान्डले बताए अनुसार दैनिक दुई पटक एक सय आठ चोटी ४० दिनसम्म मन्त्रोच्चारण गर्नाले यसको प्रभाव शरीरमा पर्दछ । एउटा मन्त्रलाई एक लाख २५ हजार चोटी उच्चारण गरे यसले गर्नुपर्ने काम गर्दछ । घण्टामा २५ पटकका दरले दैनिक एक घण्टा नियमित रुपमा ५० दिनसम्म जपे एक लाख २५ हजार पटक जपिने पनि उनको पुस्तक हिलिङ मन्त्रज्मा उल्लेख छ । 

मन्त्रको वैज्ञानिक आधार के हो ?
मन्त्र उच्चारणले हामीलाई ब्रह्माण्डीय ऊर्जासँग सम्पर्क कायम गर्ने केही अनुसन्धानबाट पत्ता लागेको छ । मन्त्रले मानिसको मष्तिष्कले सातदेखि १४ हर्जको फ्रिक्वेन्सी उत्पादन गर्दछ र यसको सम्बन्ध पृथ्वीसँग हुने हुनाले यसले ब्रह्माण्डीय ऊर्जासँग सम्पर्क कायम गर्दछ भन्ने तर्क छ । यसलाई सुम्यान रिजोनेन्स भनिन्छ । 

जर्मनीका भौतिकशास्त्री विनफ्रिड ओटो सुम्यान पृथ्वीमा वर्षामा हुने मेघगर्जन लगायतका क्रियाकलापबाट तीनदेखि ६० हर्जको फ्रिक्वेन्सी ऊर्जा उत्पन्न हुने बताउँछन् । यसमध्ये ७.८ फ्रिक्वेन्सीले मानिसको मष्तिष्कलाई ब्रह्माण्डसँग जोड्दछ । जुन फ्रिक्वेन्सी मन्त्रबाट मानव मष्तिष्कमा उत्पन्न हुन्छ । 

यसैगरी मन्त्र उच्चारण बारम्बार गर्नाले मष्तिष्कमा उत्पन्न हुने तरङ्गले अल्फा र बिटा वेभले एकाग्र, तनावमुक्ति, मानसिक एकाग्रता, संवेग व्यवस्थापन आदिमा सहयोग गर्दछ । 

मन्त्रको अर्को लाभ भनेको न्युरोप्लास्टिसिटीलाई प्रवद्र्धन गर्नु हो । मष्तिष्कसँग एक किसिमको तन्किने, खुम्चिने वा वृद्धि हुने क्षमता हुन्छ । यसलाई न्युरोप्लास्टिसिटी भनिन्छ । 

यस क्षमताका कारण दिमागले आफूलाई नयाँ वातावरणमा मिल्ने, नयाँ ज्ञान सिक्ने र आफूलाई चोटपकटबाट बच्ने क्षमता प्रदान गर्दछ । यसले मष्तिष्कलाई सिकाइ, सम्झना शक्ति र आफ्नो उपचार गर्ने क्षमता प्रदान गर्दछ । यसैले मन्त्र उच्चारणले यी लाभहरु प्राप्त हुन्छन् । 

मन्त्रले मानव मष्तिष्कमा एउटै काम लामो समयसम्म दोहोर्याउँदा हुने प्रभाव पर्दछ । यसले मानिसको मष्तिष्कलाई लामो समयसम्म एकाग्रता कायम गर्ने शक्ति प्रदान गर्दछ । 

यसका साथै मन्त्रको ध्वनिले मानव मष्तिष्कमा अक्सिटोसिन ग्रन्थि पैदा गर्दछ । यस ग्रन्थीलाई प्रेमग्रन्थी अथवा सम्बन्ध ग्रन्थी पनि भनिन्छ । 

मन्त्र उचारणले मानिसलाई अन्य मानिससँग सम्बन्ध विस्तार गर्न तथा पीडा घटाउन सहयोग गर्दछ । 

अमेरिकाको कोलम्बिया विश्वविद्यालयस्थित कलेज अफ फिजिसियन एन्ड सर्जनका चिकित्सक रिचार्ड पी ब्राउन र प्याट्रिसिया एल गेरबर्गले गरेको अनुसन्धानअनुसार मन्त्र जप्नाले मष्तिष्कको भेगस नसामा कम्पन पैदा गर्दछ । 

यो हुँदा मष्तिष्कले मुटुको धड्कन कम पार्ने, रक्तचाप घटाउने तथा मांशपेशीको संकुचन पनि घटाउँछ र मानिस तनावरहित अवस्थामा पुग्दछ । 

यसैगरी थाइल्यान्डको चुलालोकर्न विश्वविद्यालयस्थित चिकित्सा शास्त्र अध्ययन संस्थानका प्राध्यापक रिचार्ड सुदसुङ र उनका चार साथीहरुले गरेको अध्ययनअनुसार मन्त्र उच्चारणले कर्टिसोल ग्रन्थी घट्ने तथा  प्रोटिन लेभल वृद्धि गर्ने हुनाले यसबाट मानिसलाई तनावबाट मुक्ति मिल्दछ । 

पोल्यान्डका अनुसन्धानकर्ता चिकित्सक डा. पावेल डेब्राकोवास्की र उनका साथीहरुले गरेको अनुसन्धानअनुसार मन्त्र तथा ध्यानका कारण मानव मष्तिष्कमा उत्पन्न अल्फा वेभले मानिसलाई संवेगात्मक स्वास्थ्य सुधार, तनाव मुक्ति तथा श्रीवृद्धिमा सहयोग गर्दछ । 

यस्ता यी यावत विषयले मन्त्रोच्चारणमार्फत हामीले प्राप्त गर्ने जैविक सुखका विषय हुन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ