arrow

प्रथम अन्नपूर्ण आधार शिविर पदमार्गमा संरचना अभाव

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ११ आइतबार
annapurna-base-camp-2080.jpg
फाइल तस्बिर

म्याग्दी । तीन वर्ष अघिसम्म सुनसान देखिने म्याग्दीको प्रथम अन्नपूर्ण आधार शिविर पदमार्गमा अहिले दैनिक तीन सय बढी पर्यटक ओहोरदोहोर गर्न थालेपछि भौतिक संरचनाको अभाव भएको छ ।

अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा पर्ने प्रथम अन्नपूर्ण हिमालको आधार शिविरसम्म जाने र फर्कने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएपछि मौजुदा संरचना अपुग भएका र थप संरचनाको आवश्यकता भएको हो ।

पछिल्लो समय अत्यधिक स्वदेशी पर्यटक पुग्ने गन्तव्य प्रथम अन्नपूर्ण हिमालको शिविर बन्दै गएको छ । तीन वर्षअघिसम्म करिब सुनसानजस्तै हुने पदमार्गमा अहिले दैनिक तीन सयका हाराहारीमा पर्यटक पुग्ने गरेका पर्यटन अभियन्ता तेज गुरुङले बताए ।

“अन्नपूर्ण आधार शिविर पदमार्गमा खचाखच पर्यटक देखेर नारच्याङवासीसमेत दङ्ग छन् । पर्यटकको चहलपहल बढेको छ । त्यहाँ बनाइएका संरचनामा बस्ने ठाउँ पनि हुँदैन । टेन्टसहित पुगेकालाई सहज हुन्छ, अरुले कष्ट सहेरै भए पनि पदयात्रा पूरा गर्नुपर्ने बाध्यता छ”, उनले भने । खान र बस्ने होटलसहितको सुविधा भए अन्नपूर्ण बेसक्याम्प जिल्लाको प्रमुख पर्यटकीय गन्तव्य बन्ने पर्यटन व्यवसायी बताउँछन् ।

“म्याग्दीको पहिलो गन्तव्य भनेकै अन्नपूर्ण बेसक्याम्प हुन्छ । अब स्वदेशी पर्यटक हिमालको काखमा गएर रमाउनेलाई यो नेपालकै एक उत्कृष्ट गन्तव्य हो”, केही दिनअघि अन्नपूर्ण आधार शिविर पुगेर फर्किएका बेनीका छवि आचार्यले बताए ।

आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको मुख्य आधार शिविरबाट हिमाल आरोहण गर्ने क्षेत्र, आधार शिविर तथा पञ्चकुण्ड तालसहित पदमार्गमा रहेको फुतफुते ताल, गुफा, झरनासहितका सुन्दर दृष्यावलोकन गर्न पाइन्छ ।

अन्नपूर्ण-३ नारच्याङको हुमखोलाबाट सुरु हुने मौरिस हर्जोग पदमार्ग अन्नपूर्ण आरोहण ट्रेक हुँदै दुई दिनको यात्रापछि अन्नपूर्णको आधार शिविर पुग्न सकिन्छ ।

मिश्रीखोलाको किनारैकिनार निर्माण गरिएको पदमार्गका यात्रामा मनोरम प्राकृतिक सुन्दरताको अवलोकनका साथै हिमनदी र झरनाले पर्यटकलाई आकर्षित गर्छ । यो बेनीबाट छोटो दूरीमा पर्ने आकर्षक पर्यटकीय गन्तव्य हो ।

गत वर्षको भन्दा यस वर्ष अन्नपूर्ण आधार शिविरको भ्रमण गर्ने पर्यटकको सङ्ख्या छ गुणा बढेको छ ।

पर्यटकको सुविधाका लागि बेसक्याम्पमा सुविधासम्पन्न होटल, लज, सञ्चारको सुविधा र बीच बाटोमा टीहाउसलगायत पूर्वाधार बनाउन बजेटसहितको तयारी गरिएको गाउँपालिका अध्यक्ष भारतकुमार पुनले बताए ।

बेनीबाट दुई दिनको यात्रामा सजिलै पुग्न सकिने रमणीय पर्यटकीयस्थल भएकाले सम्बन्धित निकायले पर्यटन पूर्वाधार निर्माण र प्रवर्द्धनमा ध्यान दिएमा एकै वर्ष हजारौँ पर्यटक पुग्ने धवलागिरि पर्यटन परिषद्का अध्यक्ष अमर बानियाँले बताए ।

नेपालमा ‘जेठो हिमाल’ भनेर चिनिने अन्नपूर्ण प्रथमको आधार क्षेत्रसम्म पुग्ने ‘मौरिस हर्जोग पदमार्ग’ अन्तर्गत नारच्याङको दोभान-छोटेपा हुँदै हुमखोलासम्म सवारीसाधनमा पुगेर त्यहाँबाट पैदलमार्ग हुँदै दुई दिनमा सहजै अन्नपूर्ण आधार शिविरसम्म पुग्न सकिन्छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ