- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । बहुआयामिक व्यक्तित्व सिद्धि गौचनको १४औंँ स्मृति सभा पोखरामा सम्पन्न भएको छ । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालद्वारा आयोजित सिद्धि गौचन स्मृति सभा तथा पुरस्कार अर्पण समारोहका वक्ताले सिद्धि गौचनलाई ‘नाम जस्तै काममा पनि सिद्धि प्राप्त प्रतिभा’का रूपमा चिनाए ।
सोही समारोहबीच संस्थाद्वारा सञ्चालित नगद १० हजार एकसय ११ राशिसहितको सिद्धि गौचन स्मृति पुरस्कारबाट हिमाली सांस्कृतिक परिवारलाई सम्मानित गरिएको छ ।
वरिष्ठ साहित्यकार सरुभक्त, डा. नारायणप्रसाद अधिकारी, अक्षयकोष संस्थापक विश्वमोहन गौचन, अनेसासका केन्द्रीय सल्लाहकार सुमलकुमार गुरुङ, महिला शसक्तिकरणका अभियान्ता रामकली खड्काले संयुक्त रूपमा उक्त पुरस्कार हस्तान्तरण गरे ।
साहित्यकार सरुभक्तले सिद्धि गौचनलाई नजिकैबाट चिनेको स्मरण गर्दै नाम र काम दुवैले प्रसिद्धि कमाएका प्रतिभाको स्मृतिमा स्थापित पुरस्कारबाट हिमाली सांस्कृतिक परिवार पुरस्कृत हुनु गौरवको विषय रहेको बताए ।
उनले थपे, “सिद्धि गौचन बहुआयामिक मात्र नभएर बहुभाषिक प्रतिभा पनि हुनुहुन्थ्यो, जुन समय अंग्रेजी विषयकै प्राध्यापकको वाक कला भन्दा उत्कृष्ट अङ्ग्रेजी बोल्नु हुन्थ्यो ।”
पुरस्कार कोषका संस्थापक विश्व मोहन गौचनले सिद्धी गौचन आफ्नी धर्मपत्नी मात्र नभएर परिवारमा पनि लोकप्रिय पात्रका रूपमा रहेको स्मरण गरेँ ।
आफूलाई आजको विश्वमोहन गौचन बनाउन सिद्धी गौचनले पुर्याएको योगदानलाई जीवन्त तुल्याउन कोष स्थापना गरेर स्मरण गर्दै आएको बताए ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का केन्द्रीय सल्लाहकार सुमलकुमार गुरुङले समाजमा उल्लेख्य योगदान दिएका प्रतिभाको स्मरणमा हुने कार्यले पात्र मात्र नभएर स्वयम् संस्था पनि उचाइमा पुग्ने धारणा राखे ।
अनेसासका बारेमा बोल्दै गुरुङले, नेपाली जहाँ रहेता पनि फुर्सद निकालेर नेपाली भाषा, कला, साहित्य र संस्कृतिको श्रीवृद्धिमा लागिरहेको बताए ।
गण्डकी प्रज्ञा-प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीले राज्यको दृष्टिकोष अझै पनि स्रष्टा साधकप्रति सकारात्मक नभएकाले निरन्तर कलमले खबरदारी गर्न आवश्यक रहेको धारणा राखे ।
पुरस्कृत प्रतिभा हिमाली सांस्कृतिक परिवारका अध्यक्ष ज्ञानबहादुर थापाले हिमाली सांस्कृतिक परिवार स्थापना कालदेखि अविछिन्न नेपाली मौलिक कला, लोकसंस्कृति, लोपोन्मुख नेपाली नृत्य तथा बाजाको संरक्षणमा अगाडि बढ्दै गर्दा यस्ता सम्मान र पुरस्कारले उत्साह थप्ने बताए ।
उनले सबैको साथ सहयोगले अगाडि बढेको संस्था हाल लोक संस्कृति पुस्तान्तरणमा क्रियाशील रहेको जानकारी दिए ।
पूर्व सम्मानित प्रतिभा डा. वसन्त ताम्राकारले असल पात्रका रूपमा सिद्धि गौचनलाई चिनाए । महिला सीप विकास केन्द्रकी संस्थापक पूर्व सम्मानित प्रतिभा रामकली खड्काले सिद्धि गौचनसँगबाट आफूले सीप सिकेको स्मरण गर्दै सिद्धिलाई आँखामा राख्दा पनि नबिझाउने पात्रका रूपमा चित्रण गरिन् ।
थकाली सेवा समिति पोखराका अध्यक्ष तेजेन्द्र तुलाचनले जरोटुप्पो संरक्षण साहित्य समाजमा सिद्धि गौचनको स्मरणले सिङ्गो थकाली परिवारलाई गौरवबोध गराएको धारणा राखे ।
सिद्धि गौचनको व्यक्तित्वबारे प्रकाश पार्दै प्राध्यापक ज्योति भट्टचनले कुशल, निडर, असल र सफल नेतृत्व क्षमताका पात्रका रूपमा चित्रित गरिन् ।
प्रतिभा चयन समितिका संयोजक कृष्णप्रसाद पौडेलले गौचन परिवारबाट स्थापित अक्षयकोषबाट हरेक दुई वर्षमा महिला सशक्तीकरण, घरेलु उद्योग, सिलाइबुनाइ, कृषि, शिक्षा, स्वास्थ्य, समाजसेवा, कला, साहित्य, संगीतलगायतका विविध क्षेत्रमा जीवन समर्पण गरेका प्रतिभा र संस्थालाई पुरस्कृत गर्दै आएको बताए ।
संस्थाका अध्यक्ष डा.नारायणप्रसाद अधिकारीले एउटा पुरुष सफल हुनका लागि उसका पछाडि महिलाको ठूलो हात रहने भएकाले विश्वमोहन गौचनले त्यो त्यागको स्मरण गरेर कोष स्थापना गर्नु सबैका लागि प्रेरणापरक कर्म भएको धारणा व्यक्त गरे ।
लुम्ले कविता गाउँका अध्यक्ष भरत देवकोटाले गौचन परिवारकै प्रतिभा विनोद गौचनको सत्कर्मले लुम्लेलाई कविता गाउँ भनेर चिनाउन पाउँदा गौरवबोध भएको बताए ।
प्रा.डा. यमबहादुर पौडेल क्षत्रीले जरोटुप्पो संरक्षण साहित्य समाज नेपाल साहित्यको उन्नति, राष्ट्रिय एकता र देशभक्तिका साथ पृथक आयाम बोकेर अगाडि बढिरहेको बताए ।
साहित्यकार असफल गौतमले संस्थाका गतिविधिबारे प्रकाश पारेको कार्यक्रममा हिमाली सांस्कृतिक परिवारका कलाकारले नृत्य प्रस्तुत गरेका थिए भने श्रीकृष्ण शर्माले रचना प्रस्तुत गरेका थिए ।