arrow

छपन्न पर्यटकले लगाए भाइटीका

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक १९ सोमबार
bhaiteeka-mahotsab.jpg

पोखरा । तिहारका अवसरमा होटल संघ पोखरा नेपालले आइतबार पोखराको लेकसाइडमा आयोजना गरेको १७औँ भाइटीका महोत्सवमा १२ देशका ५६ पर्यटकले सहभागिता जनाएका छन् ।

पर्यटकको उल्लेख्य उपस्थितिका कारण तीन चरण गरेर उनीहरुलाई टीका लगाइएको थियो ।

नेपाली संस्कृति संरक्षण गर्दै पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजक संघका अध्यक्ष एवं महोत्सव संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए ।

होटल ल्याण्डमार्कमा भएको महोत्सवका सहभागी पर्यटकलाई रेन्वो चिल्ड्रन होम नेपालका विद्यार्थीले टीका लगाइदिएका थिए ।

सप्तरंगी टीका ग्रहण गरेका पर्यटकलाई विद्यार्थीले ढाका टोपी लगाइदिए र सेलरोटीलगायतका परिकार पस्किए । सँगै देउसीभैलो र नाचगानको कार्यक्रम पनि देखाए ।

पर्यटक पनि नाचगानमा साथ दिंदै रमाए । आफ्नो नेपाली नाम लीला राखेकी एक चिनिया पर्यटकले भाइटीका लगाउन पाउँदा आफू प्रफुल्लित भएको र पोखरा शहर पनि आफूलाई उत्तिकै सुन्दर लागेको प्रतिक्रिया दिइन् ।

महोत्सवमा इजरायल, रसिया, चीन, पोल्याण्ड, अमेरिका, बेलायत, जर्मनी, स्पेन, भारत र जापानलगायतका देशका पर्यटकले सहभागिता जनाएको संघका महासचिव राजेन्द्र ढकालले जानकारी दिए ।

संस्कृति बचाऔं, पर्यटन प्रवर्द्धन गरौँ भन्ने मूल नाराका साथ यो महोत्सव आयोजना गरिएको हो ।

संघका अध्यक्ष सुवेदीले दिदीबहिनीबाट टीका ग्रहण गरिन्छ त्यही तरिकाले पर्यटकलाई टीका लगाइदिने गरिएको बताए ।

उनले पर्यटकलाई दोहोर्याएर पोखरा आउने वातावरण बनाउन महोत्सवले सघाउने विश्वास व्यक्त गरे ।

नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाले महोत्सवको प्रवर्द्धन गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ