arrow

सहकारी ठगीमा रवि लामिछानेसहित सबैको म्याद १३ दिन थपियो 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २५ आइतबार
ravi-lamichhane-arrest-81-7-4.jpg

पोखरा । सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको समय फेरि थप भएको छ । 

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनलाई म्याद थपका लागि अदालत लगिएकामा कास्की जिल्ला अदालतले थप १३ दिन म्याद थप गरेको हो । उनको हिरासतमा बस्ने म्याद २४ गते शनिबार नै सकिएको भए पनि सार्वजनिक बिदाका कारण उनको म्याद थप हुन सकेको थिएन  । 

रविसँगै पूर्वडीआईजी छविलाल जोशी, लिला पछाई र व्यवसायी रामबहादुर खनाल तथा मित्रमिलन सहकारीका उपाध्यक्ष विजय लम्साललाई पनि अदालत उपस्थित गराइएकामा सबैको १३ दिन म्याद थप गरिएको छ  ।

सहकारी ठगी र सङ्गठित अपराध मुद्दामा पक्राउ परेका लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान भइरहेको डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।

कार्तिक २ गते शुक्रबार काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई शनिबार ३ गते बिहान कास्की ल्याइएको थियो । कास्की जिल्ला अदालतल ४ कात्तिकमा छ, ८ कार्तिकमा सात र २० कात्तिकमा १० दिन म्याद थप गरेर प्रहरीलाई अनुसन्धान गर्न अनुमति दिएको थियो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले समेत कास्की प्रहरीलाई पत्र पठाएकाले उनलाई त्यसतर्फ पठाउने तयारीसमेत भइरहेको शर्माले जानकारी दिए । लामिछानेलाई रुपन्देही पठाउने विषयमा छलफल भइरहेको शर्माको भनाइ छ ।

सूर्यदर्शन सहकारीको मुद्धामा छविलाल जोशीसहित अन्य दुई जना पनि हिरासतमै रहेकाले लामिछाने रिहा हुने सम्भावना कम रहेको बताइन्छ ।

लामिछानेविरुद्ध बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचत रकम हिनामिना गरेको आरोपमा रुपन्देही जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।

रुपन्देही प्रहरीले छविलालसँग भने यसअघि नै बयान लिइसकेको छ । छविको दशैँ र तिहार प्रहरी हिरासतमै बितेको थियो । उनी असोज ६ गते पक्राउ परेका थिए । उनलाई पनि २० कात्तिमा पाचौँ पटक १० दिनको म्याद थप भएको थियो ।

यस्तै, सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम अपचलन गरेको आरोपमा कास्की प्रहरी हिरासतमै रहेकी लीला पछाइलाई पनि अदालतले २० कात्तिकमै १० दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।

यता, रास्वपाले दोस्रो चरणको सशक्त आन्दोलन थालेको छ । पोखरामै दोस्रो चरणको आन्दोलन थालिएको हो । 

 शनिबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको पार्टीका नेता कवीन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् ।

मुलुकमा व्याप्त सङ्गठित महाभ्रष्टाचार र कुशासनविरुद्ध, सहकारी पीडित, लघुवित्त एवं मिटर ब्याज पीडितका समस्या समाधान, प्रवासमा रहेका नेपाली युवाहरूको मुलुक निर्माणमा सहभागिता र प्रवासका समस्या समाधान एवं संविधान संशोधनसँग सरोकार राख्ने राष्ट्रिय राजनीतिका मूल मुद्दाहरूमा केन्द्रित रही आम नागरिकहरू र राष्ट्रिय हितका शक्तिहरूको सहकार्यमा अब दोस्रो चरणको सशक्त आन्दोलन गर्ने निर्णय भएको उनको भनाइ छ ।

सभापति लामिछानेलाई पक्राउ परी पोखरा ल्याइएसँगै रास्वपाले पोखरा र काठमाडौँमा आन्दोलन जारी राखेको छ । शुरुआती दिनमा पोखरामा केन्द्रित भएको आन्दोलन तुहिँदै जान थालेपछि काठमाडौँ केन्द्रित गरेको थियो ।

त्यसबीचमा सभापति लामिछाने छुटाउन रास्वपाका नेताले प्रधानमन्त्री केपी शर्मा ओलीसहित ठूला नेतासँग भेटघाट र संवाद गरेका थिए । तर लामिछाने छुटाउन कसैले पनि चासो नदिएपछि रास्वपा पुनः सडक आन्दोलनमै ओर्लिएको थियो ।

पछिल्ला समयमा रास्वपाका नेताहरुले उत्तेजनात्मक अभिव्यक्ति दिँदै आएका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ