arrow

खतरनाक बन्दै अहम्

आफूलाई बाघ सम्झदै रवि भन्छन् – ‘खोरमा थुन्दैमा बाघ स्याल हुँदैन’

बयान नसकिएकाले बुधबार बिहान १० बजे फेरि सरकारी वकिलको कार्यालयमा लैजाने गरी जिल्ला प्रशासन कार्यालय भैरहवामा राखियो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २७ मंगलबार
ravi-bhairahawa4-sarkari-wa.jpg

भैरहवा । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा छानबिन गर्न पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आजको बयान सकिएको छ ।

रुपन्देहीको सरकारी वकिलको कार्यालयमा बयान दिएपछि लामिछानेले फर्किने क्रममा मिडियाकर्मीहरुसँगको कुराकानीमा आफूलाई बाघ संज्ञा दिएका छन् । उनले प्रतिक्रिया दिँदै भने, ‘‘खोरमा थुन्दैमा बाघ स्याल हुँदैन ।’

लामिछानेलाई आजै पोखराबाट रुपन्देही लागिएको थियो । उनको बयान नसकिएकाले बुधबार बिहान १० बजे फेरि सरकारी वकिलको कार्यालयमा लैजाने गरी जिल्ला प्रशासन कार्यालय भैरहवामा राखिएको छ ।

पोखराको सूर्य दर्शन सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा पक्राउ परेका लामिछानेमाथि बुटवलमा रहेको सुप्रिम सहकारीको रकम समेत हिनामिनामा संलग्न रहेको आरोप छ ।

सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख गोर्खा मिडिया नेटवर्कमा अवैध किसिमले लागिएको संसदीय छानबिन समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । 

प्रतिवेदनअनुसार, बुटवलस्थित सहकारीबाट एक करोड ९६ लाख लामिछानेको नाममा, २ करोड ५० लाख छविलाल बञ्जाडे जोशीको नाममा र साढे १२ करोड अन्य व्यक्तिहरूको नाममा गोर्खा मिडिया नेटवर्कमा गएको उल्लेख छ ।

यसैबीच लामिछानेलाई जिल्ला अदालत कास्कीले आइतबार थप १३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

कार्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई पहिलोपटक कार्तिक ४ गते ५ दिनको म्याद थप गरेको थियो भने पुनः दोस्रोपटक ७ र तेस्रो पटक १० दिनको म्याद थप भएको थियो ।

लामिछानेविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दामा अनुसन्धान गरिरहेको छ ।

प्रहरीले सहकारी ठगी मुद्धामा बढीमा २५ दिन, संगठित अपराधमा बढीमा ६० दिन र सम्पत्ति शुद्धीकरण मुद्धामा बढीमा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानूनी व्यवस्था रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ