- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
मोरङ । परियार सेवा समाजको प्रथम कोशी प्रदेश सम्मेलन आगामी मंसिर १ र २ गते सुनसरीको इटहरीमा हुने भएको छ । मोरङको बेलबारीमा बुधबार सम्पन्न परियार सेवा समाज कोशी प्रदेश तदर्थ समितिको बैठकले शनिबार इटहरीको गंगाजमुना होटलमा सम्मेलन आयोजना गर्ने निर्णय गरेको समाजका केन्द्रिय सचिव सुमन सिंह परियारले जानकारी दिए ।
समाजले कोशी प्रदेश सम्मेलन सम्पन्न गर्न केन्द्रिय सचिव सुमन सिंह परियारलाई प्रतिनिधिका रूपमा खटाएको छ भने प्रमुख अतिथिका रूपमा संस्थापक कोषाध्यक्ष एवम् पुर्व राजदुत पदम सुन्दाश सहभागी हुने बताइएको छ ।
सम्मेलनमा कोशी प्रदेशका १४ जिल्लाका प्रदेश प्रतिनिधिहरु , केन्द्रीय पदाधिकारी तथा सदस्यहरु , जिल्ला समितिका पदाधिकारी , परियार समुदायबाट निर्वाचित संघ , प्रदेश तथा स्थानीय पालिकाका जनप्रतिनिधि तथा शुभचिन्तकहरु सहभागी हुनेछन् ।
२०५२ सालमा स्थापित समाजको पाँचौ राष्ट्रिय सम्मेलन गत असोज ५ र ६ गते काठमाडौंमा सम्पन्न भएको थियो । उक्त सम्मेलनले अवकाशप्राप्त मेजर बलबहादुर सुन्दासको अध्यक्षता नयाँ कार्यसमिति चयन गरेको थियो ।
काठमाडौँमा केन्द्रीय कार्यालय रहेको समाजले देशैभरिका परियारहरुलाई एकताबद्ध गरी कला, सीप र व्यवसाय प्रवर्धनमा काम गर्दै आएको छ ।