- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमले १३ महिनापछि पहिलो जित हासिल गरेको छ । नेपालले मैत्रिपूर्ण फुटबलमा अफगानिस्तानमाथि जित हासिल गरेको हो ।
शनिबार राति ताजिकिस्तानमा सम्पन्न खेलमा नेपालले अफगानिस्तानलाई २–० ले पराजित गरेको हो । नेपाललाई जित दिलाउन जिलेस्पीजंग कार्की र रोहित चन्दले एक एक गोल गरे ।
मध्यान्तरसम्म गोलरहित बराबरी भएको खेलमा मध्यान्तरपछि दुवै गोल नेपालले गरेको हो । कार्कीले ४६ औँ र चन्दले ७८ औँ मिनेटमा गोल गरेका थिए । नेपाली राष्ट्रिय टिमबाट रोहितको यो पहिलो अन्तर्राष्ट्रिय गोल समेत हो ।
नेपालले पछिल्लोपटक सन् २०२३ को अक्टोबरमा विश्वकप छनोट पहिलो चरणको खेलमा लाओसलाई १–० ले हराएको थियो । त्यसयताका सातमध्ये नेपालले ६ खेलमा हार र एक बराबरी खेलेको थियो । योसँगै नेपालको जितविहीन निरश यात्रा पनि टुंगिएको छ ।
नेपाल र अफगानिस्तानबीच यसअघि सन् २०१३ मा प्रतिस्पर्धा भएको थियो । त्यतिबेला नेपालमै भएको साफ च्याम्पियनशिपको सेमिफाइनलमा घरेलु टिमलाई १–० ले हराउँदै अफगानिस्तानले फाइनलमा स्थान बनाएको थियो ।
शनिबारको खेलपछि फिफा वरियता १५१ औँ स्थानमा रहेको अफगानिस्तानसँग नेपालले अहिलेसम्म ७ खेल खेलेको छ । जसमा ४ खेलमा जित हासिल गरेको छ, २ बराबरी खेलेको छ भने एक खेलमा हार बेहोरेको छ ।
अफगानिस्तानसँग खेल्नुअघि नेपालले ताजिकिस्तानसँग खेलेको थियो । बुधबार भएको खेलमा नेपाल ४–० ले पराजित भएको थियो ।