- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । पोर्चुगल यूईएफए नेसन्स लिग फुटबल अन्तर्गतको खेलमा क्रोसियासँग बराबरीमा रोकिएको छ । गएराति सम्पन्न खेलमा पोर्चुगल क्रोएसियासँग १–१ गोलको बराबरीमा रोकिएको हो ।
पोर्चुगलका लागि खेलको ३३औँ मिनेटमा जोआओ फेलिक्सले शुरुवाती गोल गरेका थिए भने क्रोएसियाका लागि जोसका ग्भार्डिओलले खेलको ६५औं मिनेटमा बराबरी गोल गरेका थिए ।
यस खेलमा पोर्चुगलले क्रिस्टियानो रोनाल्डोलगायत सिनियर खेलाडीलाई खेलाएको थिएन ।
यो जितपछि पोर्चुगल समूह एकमा शीर्ष स्थानमा रहँदै नेसन्स लिगको क्वार्टरफाइनलमा पुगेको छ । त्यस्तै क्रोएसिया भने दोस्रो हुँदै क्वार्टरफाइनलमा पुगेको छ । क्रोएसियाको ६ खेलमा ८ अंक रहेको छ ।
त्यस्तै यस समूहबाट स्कटल्याण्ड ७ अंकसहित तेस्रो हुदै रेलिगेसन प्लेअफ खेल्ने भएको छ भने पोल्याण्ड ४ अंकसहित चौथो हुँदै नेसन्स लिग बी मा रेलिगेट भएको छ ।
यता समूह चारको खेलमा स्पेनले स्वीट्जरल्याण्डलाई ३–२ ले हराएको छ । त्यसतै सर्बिया र डेनमार्कले गोलरहित बराबरी खेलेका छन् ।
यी खेलपछि स्पेन १६ अंकसहित शीर्ष स्थानमा रहेर क्वार्टरफाइनलमा पुगेको छ । डेनमार्क दोस्रो हुँदै ८ अंकसहित क्वार्टरफाइनलमा पुगेको छ भने सर्बिया ६ अंकसहित रेलिगेशन प्लेअफमा पुगेको छ । स्वीट्जरल्याण्ड भने २ अंकसहित रेलिगेशनमा परेको छ ।