arrow

गोरखामा पर्यटन व्यवसायी भेला

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर ६ बिहिबार
paryatan-byabasai-bhela.jpg

गोरखा । गोरखामा ‘ऐतिहासिक पर्यटन व्यवसायी भेला २०८१’ बुधबारबाट सुरु भएको छ । दुई दिनसम्म चल्ने भेलाको पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका हुन् ।

गोरखामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन रणनीतिक योजना निर्माण गर्ने उद्देश्यसहित सदरमुकाममा भेला सुरु भएको आयोजक होटल सङ्घ गोरखाले जनाएको छ । 

जिल्लामै पहिलोपटक गोरखाको ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले भेलाको आयोजना गरिएको हो ।

भेलामा जिल्लाभित्र स्थायी घर भई देशभर पर्यटन क्षेत्रमा काम गर्दै आएका पर्यटन व्यवसायीको सहभागिता रहेको होटल व्यवसायी सङ्घ गोरखाका अध्यक्ष केशव कुँवरले जानकारी दिए ।

भौगोलिक, प्राकृतिक, ऐतिहासिक, धार्मिक तथा वातावरणीय विविधताका कारण पर्यटनको प्रचुर सम्भावना भएको गोरखाका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्नसके जिल्लामा अत्यधिक पर्यटक भित्र्याउन सकिने आयोजकको भनाइ छ ।

भेलामा एक सय ५० बढी पर्यटन व्यवसायीको सहभागिता रहेको सङ्घका उपाध्यक्ष विष्णुप्रसाद तिमिल्सिनाले जानकारी दिए । 

भेलामा जिल्लाभित्रका ११ वटै स्थानीय तहले आआफ्ना स्थानीय भित्रको पर्यटकीय सम्भावना बोकेका क्षेत्रको भिडियो सामग्री प्रस्तुत गर्ने कार्यक्रम रहेको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ