- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीविरुद्ध चौथो जिल्लामा पक्राउ पुर्जी जारी भएको छ ।
गत असोज ६ गतेदेखि प्रहरीको हिरासतमा रहेका छवि र कार्तिक २ गतेदेखि हिरासतमा रहेका रविविरुद्ध चौथो जिल्ला चितवनमा पनि पक्राउ पुर्जी जारी भएको हो ।
शुक्रबार जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालले पक्राउ पुर्जी जारीका लागि अनुमति दिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
रवि र छविसहित १० जनाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको हो ।
चितवनको साहारा चितवन बहुउद्देश्य सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा बचतकर्ताले रवि र छविसहित १० जनाविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका थिए।
साहाराबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा १० करोड ८० लाख १८ हजार १५१ लाख रुपैयाँ गएको देखिएको छ।
यसअघि असोज ८ गते साहारा सहकारीको बचत रकम हिनामिना प्रकरणमा जीबी राईसहित १७ जना विरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भइसकेको छ।
यसअघि कास्की, रुपन्देही र काठमाडौँमा पक्राउ पुर्जी जारी भएको थियो । रवि र छवि दुवै जना कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् ।
शुरुआतमा पोखराको सूर्यदर्शन सहकारी ठगीमा उहीहरु पक्राउ परेका थिए । दुवैले रुपन्देहीको सरकारी वकिलको कार्यालयमा बयान दिएका थिए । बुटवलस्थित सुप्रिम सहकारी ठगीमा बयान लिन उनीहरुलाई रुपन्देही पुर्याइएको थियो ।
त्यस्तै छविले काठमाडौँमा बयान दिएका छन् । उनलाई शुक्रबार काठमाडौँबाट बयान लिएर कास्की फर्काइएको छ । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको बयान लिन पोखराबाट काठमाडौँ ल्याइएका छविको बयान सकिएपछि पोखरा फर्काइएको हो ।
छविलाई गत मंगलबार कास्कीबाट काठमाडौँ ल्याइएको थियो । अब रविलाई काठमाडौँ ल्याउने तयारी भएको प्रहरीले जनाएको छ । छविलाई प्रहरी र जिल्ला सरकारी वकिल कार्यालयले बुधबार र बिहीबार बयान लिएको थियो ।
बयान सकिएसँगै उनलाई शुक्रबार पोखरा फिर्ता पठाइएको प्रहरीले जनाएको छ । काठमाडौँ प्रहरीले पोखराबाट अब रविलाई झिकाउने तयारी गरेको छ । उनलाई शनिबार नै काठमाडौँँ ल्याइने प्रहरी स्रोतले बताएको छ ।
रवि र छविसमेत सञ्चालक रहेको ग्यालेक्सी टेलिभिजनमा ६५ करोड रुपैयाँ गएको खुलेपछि उनीहरू दुवैजना पक्राउ गरेका हुन् । सहकारी ठगीका मुख्य आरोपी ग्यालेक्सीका सञ्चालक गितेन्द्र राई (जीबी) भने अझै फरार छन् ।