arrow

सफलताको कथा

सुन्दर कृषि नै हाम्रो जीवन 

logo
रघुवीर चन्द्रवंशी,  
प्रकाशित २०८१ मंसिर ९ आइतबार
raghubir-chandrabanshi-81-8.jpg

बहुसंख्यक जनसंख्या परम्परागत कृषिमा आश्रित रहेको हाम्रो देशको आर्थिक समृद्धिको विभिन्न आधारहरु मध्ये कृषि क्षेत्रनै सबैभन्दा प्रमुख आधार हो भन्ने बारेमा विद्यालयअध्ययनका बेलाबाट धेरै सुनेको थिएँ । कुनै दिन यस क्षेत्रमा भविष्य खोज्न सकिन्छ भन्ने बुझाइ मेरो थियो। नेपालको हावापानी, सिंचाई तथा भौगोलिक बनावटका हिसावले नेपालको कृषि क्षेत्रमा धेरै ठूलो प्रगती भैसकेको हुनु पर्दथ्यो। ६० प्रतिशत भन्दा बढी जनसंख्या कृषि क्षेत्रमा आश्रित हुँदा पनि यस क्षेत्रले उल्लेख्य प्रगति गर्न नसकेर नेपालले वार्षिक अर्बौँ रुपैयाँको कृषिजन्य बस्तु आयात गरेर अर्बौँ व्यापार घाटा व्यहोर्दै आएको तीतो यथार्थ हामीसँग रहेको छ।  

कृषिमा समय सापेक्ष रुपमा आधुनिकीकरण तथा यान्त्रीकरण गर्न नसक्नु, कृषि व्यवसायलाई अध्ययन कम भएका गरीब कृषकले मात्र गर्ने पेशाको रुपमा बुझ्नु तथा  कृषि पेशा हेपाईमा पर्दै जानु नै नेपालको कृषि व्यवसाय फस्टाउन नसक्नुको प्रमुख कारणका रुपमा लिएको छु। हामी विदेशमा रोजगारीको अनुभव भएका तीन जना साथी मिलेर कृषि व्यवसाय गर्ने अठोटका साथ सुन्दर कृषि फर्म दर्ता गरेर सुनसरी जिल्लाको बराह क्षेत्रमा सन् २०१९ बाट कृषि व्यवसाय सञ्चालन गरिरहेका छौँ। शुरुआती दिनबाट नै दैनिक खपत हुने विभिन्न जातका मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आएका छौँ ।

विगतमा वैदेशिक रोजगारीको शिलसिलामा सन् २०१२ मा दक्षिण कोरिया जाने सौभाग्य मिल्यो र त्यहाँ रहँदा कोरियाको आधुनिक प्रविधिमा आधारित कृषिजन्य खेतीको नजिकबाट नियाल्ने अवसर मिलेको थियो र त्यही अनुसार नेपालमा व्यवसाय गर्दा कृषि क्षेत्रको विकासमा केही गर्न सकिन्छ भन्ने लागेर नै यस व्यवसायको थालनी गरेका हौँ । कोरियाबाट अनुभव गरेकोमध्ये महत्वपूर्ण विषय, जुनसुकै काम ठूलो र सानो भन्ने हुँदैन । मेहनत, इमान्दार लगनशीलता आदिले केही गर्न सकिन्छ भन्ने आत्मविश्वास हामीमा थियो।  

दक्षिण कोरियाको अनुभवले नेपालको कृषिमा आधुनिकीकरण र हाम्रो परिवारका सदस्यले विगत देखि गर्दै आएको निर्वाहमुखी तथा परम्परातग खेतीको उत्पादन परिणाम, लगानीको तुलनाम हुने रिर्टनमाथि अध्ययन पश्चात नेपालको कृषि क्षेत्रको आधुनिकीकरण तर्फ पाईला चालिरहेका छौँ। हाम्रो ज्ञान अनुसार आधुनिक प्रविधिबाट कृषि व्यवसाय गर्दा लगानी र परिश्रमको तुलनामा उत्पादन बढाउन सकिन्छ भन्ने रहेको छ।  
 
सन् २०१६मा कोरियाबाट नेपाल फर्किएर केहि वर्ष अध्ययन पश्चात थालनी गरेको हाम्रो व्यवसाय ११ विगाह क्षेत्रफलमा विभिन्न किसिमका कृषि जन्य खेती गर्दै आएका छौँ। हाम्रो व्यवसायमा १८ जना व्यक्तिलाई प्रत्यक्ष रोजगारको अवसर प्रदान गर्न सक्नु पनि समाजमा कृषि क्षेत्र प्रतिको सोचाईमा सकारात्मक सन्देश दिनु हो भन्ने लाग्छ। 

  खेतबारी बाँझो छोडेर दैनिक हजारौँको संख्यामा नेपालीले रोजगारीका लागि विदेशतिर जानु पर्ने बाध्यतालाई सकारात्मक सन्देश दिन सफल भएका छौँ भन्ने लाग्छ। कृषि व्यवसाय सञ्चालनका लागि आवश्यक विभिन्न किसिमका आधुनिक मेशिनरीहरु प्रयोगमा ल्याएका छौँ । कृषि उपजको भण्डारण गर्नका लागि ३० टन क्षमताको मिनी कोल्ड स्टोरसमेत सञ्चालनमा ल्याएका छौँ । हामीले वार्षिक एक करोड रुपैयाँ भन्दा माथिको तरकारी बिक्री वितरण गर्दै आइरहेका छौँ । 

हाम्रो कुल लगानी २ करोड रुपैयाँ हाराहारी रहेको छ। हाम्रो व्यवसायको अनुशरण गर्दै यहि क्षेत्रको निकटमा अन्य विभिन्न कृषि फर्महरुको स्थापना भएको छ। हामी लगायत यस क्षेत्रका विभिन्न फर्महरुको व्यवसायको सकारात्मक पक्षलाई मध्यनजर गर्दै नेपाल सरकारको कृषि क्षेत्र सम्वन्धी समन्वय गर्ने संस्था नार्कले समेत अध्ययन गरी यस क्षेत्रलाई नार्क प्रविधि गाउँ घोषणा गरेको छ।

यस क्षेत्रमा हामीले सञ्चालन गरेको खेती प्रविधि देखेर अन्य जिल्लाहरु जस्तैः मोरङ, झापा, उदयपुर, धनकुटा लगायतका जिल्लाका युवाहरुले पनि आधुनिक कृषि व्यवसाय विस्तार गरिरहनु भएको छ। हामीले आधुनिक कृषि व्यवसाय सञ्चालन गरे पश्चात अन्य क्षेत्रका व्यक्तिलाई पनि कृषि व्यवसायमा आवद्धहुन प्रेरणा मिलेकोमा हर्षित भएका छौँ। अन्य क्षेत्रका कृषि व्यवसायमा रहनु भएका साथीहरुले प्रविधिक लगायतका सल्लाह समेत हामीसँग लिने गर्नु भएको छ। हाम्रो उत्पदनहरु नेपालको दमक, विर्तामोड, धरान, इटहरी, काठमाण्डौं, पोखरा लगायत विभिन्न स्थानमा उपलव्ध गराएका छौँ। 

अप्रत्यक्ष रुपमा धेरैजना व्यपारीहरुसमेत हाम्रो कृषि फर्मबाट लाभ लिइरहनु भएको छ। हाम्रो कृषि व्यवसाय अवलोकन गर्नका लागि विभिन्न ठाउँबाट शैक्षिक भ्रमणहरु हुने गरेको छ।

हाम्रो कृषि व्यवसायको बारेमा ३ चरणमा वर्गिकरण गरेर जानकारी दिन चाहन्छु।

प्रथम चरण  
कृषि फर्म स्थापनाको शुरुवाती चरणमा हामीले कृषिलाई आधुनिक हिसाबले अगाडी बढाउनका लागि यथेष्ठ ज्ञान थिएन, कोरियामा देखेको आधुनिक प्रविधी नेपालमा सम्भव भए नभएको बारेमा प्रमाणित गर्नु जटिल थियो। हामीसँग प्राविधिक ज्ञानको कमी थियो, प्रविधि हाम्रो पहुंचमा थिएन, कृषिबालीमा लाग्ने रोग, किराको प्रकोप, मौसमको प्रभाव, उपचार विधी थाहा थिएन, धेरै तरकारी वालीहरु नष्ट भएको तितो विगत हामीसंग छ। त्यसैगरी कामदार व्यवस्थापनको समस्या थियो, उत्पादन भएको तरकारी कहाँ कसरी बजार सम्म पुगेर विक्रि गर्ने भन्ने हामीलाई अनुभव थिएन्। परिवारबाट पनि कृषि व्यवसाय गर्न हाम्रा लागि सकारात्मक सहयोग भएन, समाज, छरछिमेक सबैले हामीलाई गिज्याउने अवस्था थियो। हामीलाई अनावश्यक क्षेत्रमा लगानी गर्नेहरु भन्ने आक्षेप लगाउने मात्र थिए। लगानी गरे अनुशारको उत्पादन हुन सकेको थिएन तर पनि कृषि फर्म गर्ने दृढ इच्छा निरन्तर कायम रह्यो। यस्तो समय करिब २ वर्ष सम्म चल्यो। हामीलाई लाग्थ्यो, योनै हाम्रोलागि सिकाई हो, भन्ने सोचाईका साथ हामी कहिल्यै विचलित भएनौं। भविष्यमा त्यस्ता किसिमका समस्या पुनः भोग्न नपारोस भन्नेमा सचेत थियौं। सो अवधिमा केही प्राविधीक ज्ञान हामीलाई मिल्यो, प्रविधीको प्रयोग गर्ने तरिका थाहा भयो र आफै दक्ष नभैकन प्राविधिकको मात्र भर परेर खेति गर्न नसकिने बारेमा प्रष्ट ज्ञान भयो।

दोश्रो चरण
कृषि फर्मको स्थापनाको करिब २ वर्ष पश्चात हामीले पहिलो चरणमा अनुभव गरेका र भोगेका कमि-कमजोरीबाट पाठ सिकेर कृषिबाली लगाउनु अगाडीनै योजना बनाउंदै, कहिले कुन किसिमको तरकारी खेती गर्ने, मौसमी खेती वा बेमौसमी खेती गर्नका लागि कुन प्रविधि प्रयोग गर्ने र बजारमा सिजन अनुसार कस्तो कृषिजन्य बस्तुको माग रहेको छ त्यहि खेतीमा ध्यान केन्द्रित गर्न थाल्यौं। त्यस चरणमा हामीले विभिन्न ठाउँमा बालीमा लाग्न सक्ने विभिन्न किसिमका रोग, किरा, बजार व्यवस्थापन, मौसमी तथा बेमौसमी तरकारी खेति प्रविधिको तालिमहरु लिने अवसरको सदुपयोग गर्यौं। स्थानिय नगरको कृषि प्राविधिकको सहयोग, गैह्र कृषि कम्पनीहरुको सहयोग, विभिन्न कृषि कम्पनीहरुले भित्राएका कृषि व्यवसायमा प्रयोग हुने मेसिन तथा अन्य कृषि सामाग्रीहरु आयात गर्ने कार्य भयो। 
 
त्यस चरणमा अघिल्लो चरणमा भन्दा लगानी समेत बढाउने कार्यले सार्थकता पायो। त्यति बेला सम्म हाम्रो उत्पादन क्षेत्रफल करिब ६ विगाह मात्र रहेको थियो। विस्तारै उत्पादन पनि बृद्धि हुनुका साथ साथै बजारमा बिक्री वितरण गर्न समेत सहज भएको थियो। त्यस अवधिमा मल्चिङ्ग, प्लाष्टीक, थोपा सिँचाई, बेड मेकर, पावर स्प्रेयर, पावर टिलर, मिलि टिलर लगायत अन्य विभिन्न प्रविधिहरु भित्राउने कार्य भएको थियो। त्यति बेला कामदार व्यवस्थापन तथा बजार व्यवस्थापनमा पनि केही सहज भएको थियो। सबै भन्दा ठूलो कुरा उत्पदानमा बृद्धि भएको देख्दा हामीमा कृषि व्यवसाय गर्नका लागि थप उर्जा मिलेको थियो। विस्तारै घरपरिवार तथा समाजले हेर्ने दृष्टिकोणमा समेत सकारात्मक परिवर्तन आईसकेको थियो। हाम्रो वरिपरीका धेरै जना कृषकहरुले फर्म दर्ता गरेर व्यवसायिक तरकारी खेती गर्ने कार्यको शुरुवात गरिसकेका थिए। सो क्षेत्रमा परिवर्तनको अनुभूती गरेर नेपाल सरकार कृषि मन्त्रालय नार्कले बराहक्षेत्र न.पा. वडा नं. ९ र १० लाई नार्क प्रविधि गाउँ घोषणा गरेर ठूलो हौशला दिलायो।

कृषि फर्मको हालको अवस्था
हालको चरणमा आई पुग्दा स्थापनाको करिब ५ वर्षमा चलिरहेको र लामो अनुभव रहेको छ। हाम्रो अनुभवले तरकारी बाली थोरै क्षेत्रफलमा लगाएर आम्दानी गर्न सकिंदैन र ३-४ किसिमका मात्र तरकारी बालीमा ध्यान केन्द्रित गरेर ठूलो क्षेत्रफलमा व्यवसायिक खेतीले मात्र दिर्घकाल सम्म टिक्न र राम्रो आय आर्जन गर्न सकिन्छ भन्ने ज्ञान मिल्यो। सोही अनुरुप हामीले थप ५ बिगाह जग्गा भाडामा लिएर हाल ११ बिगाह क्षेत्रफलमा तरकारी खेति गर्दै आएकाछौँ। हाल हामीलाई बजारको चिन्ता छैन्, उत्पादनमा पनि ठूलो समस्या देखिएको छैन्। गत आर्थिक वर्षको कारोबार हेर्दा १ करोड भन्दा बढी तरकारी बिक्री भएको छ। हामीले फर्मको दैनिक हिसाव पारदर्शी तवरले राखेका छौँ। हामीले प्राय जसो कारोबार बैंकको माध्यमबाट गर्दै आएका छौँ।

हामीआर्थिक रुपमा पनि तन्दुरुस्त हुन चाहन्छौँ। कर्मचारीको तलब पनि हामीले बैकिङ् प्रक्रियाबाट दिने व्यवस्था मिलाएका छौँ। हाम्रो क्षमता, दक्षता, सीप र निरन्तर मेहनेत गर्ने बानीले व्यवसायमा धेरै सुधार भएको पाएका छौँ। हाम्रो कोल्ड स्टोरमा आलु, स्याउ, सुन्तला, सयपत्री फुल लगायतका अन्य तरकारीहरु समेत राखेर बिक्री वितरण गर्ने गरेका छौँ। ठूलो परिणाममा तरकारी उत्पादन भए पनि बजारको खासै समस्या भएको छैन। इटहरी, धरान, दमक, बिर्तामोड, काठमाण्डौ जस्ता ठाउँबाट गाडी आएर हाम्रो फर्मबाट  तरकारी लाने गरेका छन्।

हाल विभिन्न ठाउँका धेरैवटा कृषि व्यवसायीहरु हामीसँग प्रत्यक्ष सम्पर्कमा रहेर काम गरिरहनु भएको छ। हाम्रो क्षेत्र वरिपरी धेरैवटा कृषि फर्महरु स्थापना भएका छन्। विदेशबाट फर्किएका युवाहरु समेत कृषि व्यवसाय सञ्चालन गर्नका लागि हामीसंग सल्लाह लिनका लागि आई रहेको अवस्था छ। धेरै किसान तथा व्यवसायी फर्महरुले हामीबाट प्राविधिक सल्लाह लिएर कृषि व्यवसाय गरिरहनु भएको छ। धेरै टाढाका जिल्लाबाट समेत विद्यार्थी, किसानहरु शैक्षिक अवलोकन भ्रमणका लागि आईरहनु भएको छ। राज्यका कृषि क्षेत्रमा कार्यरत विभिन्न निकायका कर्मचारीको पनि अवलोकन भ्रमण हुने गरेको छ र हामीलाई कृषि व्यवसाय गर्नका लागि ठूलो बल मिलेको छ। आज हामी कृषि क्षेत्र विकासका लागि आयोजना हुने विभिन्न कार्यक्रममा सल्लाह दिने हैशियतमा निमन्त्रणा पाएर आफ्नो भूमिका निभाई रहेका छौँ।

हाम्रो क्षेत्रमा निरन्तर रुपमा कृषि उद्यमीहरुको वृद्धि हुनुका साथै उत्पादन र उत्पादकत्वमा समेत वृद्धि भएको छ। हामी नेपाललाई हराभरा बनाउने र कृषिका माध्यमबाट देशलाई समृद्ध राष्ट्रका रुपमा अगाडि बढाउन सहयोगी भूमिकालाई निरन्तरता दिंदै जानेछौँ ।  

हाम्रो भविष्यको योजनाः
१. ग्राफ्टेड वेर्ना उत्पादन गर्ने।
२. ५० बिगाह क्षेत्रफलमा खेति विस्तार गर्ने।
३. २०० जना भन्दा बढीलाई रोजगारी दिने।
४. व्यवसायिक रुपमा कृषि फर्म सञ्चालन गर्ने नेपालका युवा पुस्तालाई कृषि व्यवसायमा लाग्न सहयोग गर्ने।
५. विदेशबाट फर्किएका युवाहरुलाई कृषिमा लगानी गर्न सल्लाह सुझाव दिने।
६. स्थानिय स्तरमा रहेका किसानहरुलाई व्यवसायिक कृषि सम्बन्धी तालिम प्रदान गर्ने।  
नेपालको कृषि क्षेत्र विकासका लागि राज्यले गर्नु पर्ने कार्यहरुः
१. दक्ष तथा अनुभवि कृषि प्राविधिकले किसानको फर्म तथा खेत बारिमा निरन्तर अनुगमन पठाउने व्यवस्था गर्ने।
२. कृषिमा प्रयोग हुने प्रविधि तथा सामाग्रीहरुमा भन्सार निःशुल्क गराउने।
३. अनुदानका सबै किसिमका कार्यक्रमहरु खारेज गरी उत्पादन क्षमतामा आधारित अनुदान प्रणाली लागु गर्ने।
४. कृषक, कृषि फर्म, कृषि सहकारीले संञ्चालन गर्दै आएको चिसो भण्डारणमा कृषि मिटर उपलव्ध गराउने।
५. कृषि तथा आवास क्षेत्रलाई व्यवस्थित गराउने।
६. कृषि उपजहरुको न्युनतम समर्थन मूल्य निर्धारण गरी दीर्घकालिन बजार व्यवस्थापन प्रणाली अवलम्बन गर्ने।
७. दक्ष कृषि प्राविधिक उत्पादनका लागी प्राविधिक शिक्षामा लगानी गर्ने।
माथि उल्लेखित विषयमा सरकारको ध्यान गएमा नेपालमा कृषि व्यवसाय सफल हुन सक्छ भन्ने हाम्रो बुझाई रहेको छ। 

(‘तपाईं पनि मालिक बन्न सक्नुहुन्छ’ नामक पुस्तकबाट । गणतन्त्र कोरिया र नेपालबीच कूटनीतिक सम्बन्धको ५० औं वर्षगाँठको अवसरमा नेपालमा रहेको गणतन्त्र कोरियाली दूतावासले कोरियामा रोजगारको अनुभवमा आधारित २६ वटा व्यवसायिक कथाहरु समावेश गरी ‘तपाईं पनि मालिक बन्न सक्नुहुन्छ’ नामक पुस्तक प्रकाशन गरेको हो ।)


 



नयाँ