बयानका लागि रवि लामिछाने काठमाडौँको सरकारी वकिल कार्यालयमा
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १६ आइतबार
503
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । सहकारी ठगीसहित विभिन्न आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बयानका लागि काठमाडौँस्थित सरकारी वकिलको कार्यालय लगिएको छ ।
बिहीबार साँझ कास्कीबाट काठमाडौँ ल्याइएका उनको शुक्रबारदेखि बयान चलिरहेको छ । काठमाडौँ प्रहरीको हिरासतमा रहेका लामिछानेलाइ बाँकी बयानका लागि आज रकारी वकिलको कार्यालय लगिएको हो ।
शुक्रबार झण्डै साढे ६ घण्टा बयान दिएका उनको बयान सकिएमा आजै उनलाई कास्की फर्काइने छ ।
सहकारी ठगीको मुद्दामा कास्की प्रहरी हिरासतमा रहेका उनलाई काठमाडौँस्थित कालिमाटीको स्वर्णलक्ष्मी सहकारी ठगीको आरोपमा बयान लिन काठमाडौँ ल्याइएको हो ।
स्वर्णलक्ष्मी सहकारीबाट जीबी राई र रविले लाखौं रकम लिएको प्रमाण भेटिएको छ। बुझिलिनेको हस्ताक्षर नभएका र सहकारीको छाप नभएका दुई कागजात फेला परेका छन् ।
त्यसमा स्वर्णलक्ष्मी चार पांग्रे सवारी कर्जा भनी ४६ लाख ४८ हजार र ४६ लाख ९८ हजार रुपैयाँ ऋण लिएको उल्लेख छ। त्यसरी लिइएको रकम गोर्खा मिडिया नेटवर्कमा लगानी गरेको आरोप उनीहरूलाई छ ।
यसअघि उनका गोर्खा मिडियाका साझेदार पूर्वडीआईजी छविलाल जोशीसँग बयान लिइएको थियो। स्वर्णलक्ष्मी सहकारी ठगीको पूरक जाहेरी अहिले जिल्ला प्रहरी परिसर काठमाडौँमा छ । पहिले प्रारम्भिक जाहेरी प्रहरी वृत्त कालिमाटीमा थियो, अहिले पूरक जाहेरी आएपछि परिसर स्वयम् स्वर्णलक्ष्मी सहकारीको अनुसन्धानमा सक्रिय छ।
स्वर्णलक्ष्मी सहकारी ठगीमा ६८० जनाको जाहेरीमा एक अर्ब ११ करोड ८५ लाख ३८ हजार ४८८ रुपैयाँ बिगो दाबी गरिएको छ। त्यसमा २४ जना प्रतिवादी छन्। तीमध्ये छवि, रवि, रम्तेल, सुनिता नेवा र कमल लामा पक्राउ परेका छन्। यसमा सञ्चालक जीबी राई भने फरार छन्।
अहिले सहकारी ठगीबाहेक जीबी, रवि र छविलगायतविरूद्ध चार वटा कसूर स्थापित गर्न प्रहरीले मेहनत गरिरहेको छ। ठगी, कीर्ते, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अनुसन्धान प्रहरीले गरिरहेको छ।
सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुर र संगठित अपराधतर्फको अनुसन्धानमा प्रहरीले ९० दिनसम्म थुनामा राख्न सक्ने कानुनी व्यवस्थाले फरार जीबीबाहेक रवि–छविहरूको हिरासत यात्रा लम्बिने देखिन्छ।
मुख्यतयाः अहिले जीबी, रवि, छविहरूविरूद्ध पाँच वटा सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेको छ। काठमाडौं, कास्की, पर्सा, रूपन्देही र चितवनका सहकारीको तीन अर्ब बराबरको रकम ठगीको ‘नाइके’ पृष्ठभूमिमा जिबी, रवि र छवि जोशी छन् ।
रवि र छविको रुपेन्देहीमा बयान भइसकेको भने काठमाडौँमा सकिएपछि चितवनमा पनि हुनेछ । त्यस लगत्तै पर्सा पनि बयान हुने बताइएको छ ।