काठमाडौँ । ३३ औँ अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर आज समावेशी टेबुल टेनिसको प्रतियोगिता सम्पन्न भएको छ । राष्ट्रिय शारीरिक अपांग टेबुलटेनिस संघ र इनर ह्वील क्लब सातदोबाटोको संयुक्त आयोजनामा खगेन्द्र सामुदायिक हल, जोरपाटीमा अपांगता भएका र नभएका विद्यार्थी खेलाडीहरूबीच टेबुल टेनिस खेलको प्रतिस्पर्धा भएको थियो ।
उक्त खेलमा राष्ट्रिय शारीरिक अपांग टेबुलटेनिस संघको तर्फबाट ८ जना पुरूष र ५ जना महिला तथा इनर ह्वील कलब सातदोबाटोको तर्फबाट ९ जना पुरूष र १ जना महिला खेलाडी गरेर जम्मा २३ जना खेलाडीहरूको सहभागिता भएको थियो ।
नकआउटको आधारमा खेलिएको खेलमा पुरूषतर्फ सुबर्त दंगाल प्रथम, लक्ष्मण बराम दोश्रो र पुकार राइ तेश्रो भएका थिए । त्यसैगरी महिलातर्फ पूजा सोती प्रथम, आशा हमाल दोश्रो र निरूता मगर तेश्रो भएका थिए । विजेता खेलाडीहरूलाइ प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरिएको थियो ।
अपांगता भएका र नभएका खेलाडी बीचको प्रतिस्पर्धाबाट सबै खेलाडीहरूको मनोबल उच्च हुने, आफ्नो समुदाय भन्दा बाहिरको खेलाडीसँग प्रतिस्पर्धा गर्दा नयाँ अनुभव हुने र समावेशिताको मर्म र भावना अनुरूप समावेशी समाजको निर्माण गर्न यस्ता खाले प्रतियोगिताले सहयोग पुग्ने उद्देश्य राखेर प्रतियोगिताको आयोजना गरिएको थियो ।
दुवै संस्थाको सहआयोजनामा भएको प्रतियोगिताको अध्यक्षता राष्ट्रिय शारीरिक अपांग टेबुलटेनिस संघका अध्यक्ष गणेशबहादुर खत्रीले गर्नुभएको थियो । कार्यक्रमको प्रमुख अतिथिको रूपमा सहभागी भएका राष्ट्रिय पाराल्म्पिक कमिटी नेपालका उपाध्यक्ष टेकबहादुर गुरूङले यस्ता प्रतियोगिताले खेलाडीको क्षमता विकास गर्ने र समाजमा जनचेतना फैलाउन तथा अपांगता भएका व्यक्तिहरूको प्रतिभालाई वृद्धि गर्न सहयोग पुग्ने बताए ।
उनले खेलाडीहरूले आफूलाई तालिमको माध्यमबाट सशक्त बनाउन सकेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागी भइ पुरस्कार जित्न सकिने भएको हुँदा २०२६ मा जापानमा हुने एसियाली पारा खेललमा सहभागी भइ पुरस्कार जित्नको लागि तयार रहन भने ।
इनर ह्वील क्लब सातदोबाटोकी सचिव कल्पना खतिवडाले सञ्चालन गरेको कार्यक्रममा इनर ह्वील क्लब सातदोबाटोकी चार्टर प्रेसिडेन्ट सीमा राइले कार्यक्रममाथि प्रकाश पारिन् । इनर ह्वील क्लब सातदोबाटोकी अध्यक्ष सबिना ओझाले सबैलाई स्वागत गरेकी थिइन् ।