माओवादीको निष्कर्ष - जनताले एक चोटि फेरि साथ दिने मनशाय बनाए [भिडियो]
केन्द्रीय समिति बैठक पुस २१ गतेदेखि
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २८ शुक्रबार
637
Shares
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठकले स्थानीय तहको उपनिर्वाचनमा पार्टीले उत्साहजनक मत पाएको निष्कर्ष निकालेको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको बैठकले जनताले एक चोटि फेरि माओवादी केन्द्रलाई साथ दिने मनशाय बनाएको सन्देश उपनिर्वाचनले दिएको निष्कर्ष निकालेको हो ।
स्थायी समिति बैठकका निर्णय सुनाउँदै पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले संसद्का दुई ठूला दल काँग्रेस र एमाले मिलेर जाने सोचलाई उपनिर्वाचनले खण्डित पारेको बताए । वर्तमान सरकार टंकलाइनको महसुल उठाउनको लागि विद्युत् प्राधिकरणले गरेको प्रयत्नमा अवरोध सिर्जना गर्ने, विश्वविद्यालयका नियुक्तिमा दबाब दिनेदेखि हरेक निकायहरूमा हस्तक्षेप तीव्र बढेको भन्दै पार्टीले आपत्ति जनाएको सापकोटाले बताए ।
उनकाअनुसार पुस २१ गतेदेखि पार्टीले केन्द्रीय समिति समेत बोलाएको छ । त्यसअगाडि पुस १७, १८, १९ र २० गते स्थायी समिति बैठक बोलाएको बस्ने उनले बताए ।
उनले भने, ‘आजको बैठकको मुख्य एजेन्डा भर्खरै सम्पन्न स्थानीय तहको उपनिर्वाचनका बारेमा छलफल गर्ने थियो । उपनिर्वाचनको परिणामले उत्साहको वातावरण सिर्जना गरेको छ । त्यस्तै काँग्रेस र एमाले मिलेर दुई दल एकातिर जाने सोच बनाएका थिए त्यो सोचलाई खण्डित गरेको छ । र अहिले काँग्रेस र एमालेको दुई तिहाइको सरकारले जसरी जनताको हितविपरित काम गरिरहेको छ । सुशासनका विरुद्धमा कामहरू भइरहेका छन् । टंकलाइनको महसुल उठाउनको लागि विद्युत् प्राधिकरणले गरेको प्रयत्नमा अवरोध सिर्जना गर्ने काममा गरेको छ । मन्त्री नै प्राधिकरणमा कार्यकक्ष खोलेर बसेका छन् । विश्वविद्यालयका नियुक्तिमा दबाब दिनेदेखि हरेक निकायहरूमा सरकारको हस्तक्षेप तीव्र बढेको छ, त्यसमा पार्टीले आक्रोश व्यक्त गरेको छ । सङ्घीय संसद्का दुवै सदनको बैठक बस्ने बेला पनि भएको छ । त्यसमा पनि प्रभावकारी हस्तक्षेपको प्रक्रिया अगाडि बढाउनुपर्छ भन्ने निर्णय भएको छ । अहिले राष्ट्रिय परिस्थिति एकदमै प्रतिकुल हुँदै गइरहेको अवस्थामा छ । अन्तर्राष्ट्रिय परिस्थिति पनि एकदमै पेचिलो बन्दै गइरहेको छ । यो अवस्थामा पार्टीले आफ्नो भूमिकालाई गुणात्मक रूपमा बढाउनुपर्छ भन्ने निर्णय गरेको छ । र अर्को चाहिँ, हामीले पार्टीको केन्द्रीय समितिको बैठक पुसको २ गते बस्ने भनेका थियौँ । अहिले पालिका सम्मेलन चलिरहेको हुनाले मङ्सिर मसान्तभित्रमा सक्ने भने पनि केही कारणले सम्पन्न हुनसक्ने स्थिति नबनेका कारणले अन्तिम तयारीका लागि स्थायी कमिटीको बैठक मङ्सिर १७, १८,१९ र २० गते बस्ने र केन्द्रीय समितिको बैठक २१ गते बग्नेगरि निर्णय भएको छ ।’