नेपाली बालसाहित्यमा चित्राङ्कनको शुुरूआत कहिले भयो भन्नेबारे ठोस अध्ययन भइनसके पनि बालसाहित्य र चित्राङ्कन बीचको अन्योन्याश्रित सम्बन्ध रहेकोमा दुई मत देखिँदैन । हुन पनि चित्र त भाषा भन्दा जेठो अभिब्यक्तिको विश्वव्यापी माध्यम नै हो । लिपीको विकासभन्दा अगाडि नै चित्राभिब्यक्ति र चित्राक्षरको शुरूआत भइसकेको थियो ।
ग्रहण गर्न सजिलो माध्यम भएरै होला भरखर तोतेबोली फुटेका नानीहरू पनि चित्रको रङ र लय हेर्दै ‘ताताङ–तुतुङ’ बोलीमा हराउन थाल्छन्, मन्त्रमुग्ध हुन्छन् । मानसिक र शारीरिक बुद्धिसँगै उनीहरूको बोध र ग्रहण क्षमता बढ्दै जान्छ र चित्रको भावनामा डुब्ने कल्पनाको रोचक उडान भर्न सक्छन् । चित्राङ्कित साहित्यले त्यस्तो आस्वाद्य रस प्रदान गर्दछ जसलाई बालबालिकाहरू पहिले आँखाले पिँउछन् अनि मन मष्तिस्कमा पुर्याएर भावना वा विचारलाई अमृतमय पार्दछन् (गोविन्दराज विनोदी) ।
बालबालिकाहरूलाई मनोरञ्जन दिने, रचनात्मक एवं सिर्जनात्मक हुने प्रेरणा दिने र ज्ञानविज्ञानका विविध विषय सम्बन्धमा जानकारी दिने विषयवस्तुलाई उनीहरूको उमेर अनुसारको सरल सरस भाषामा रोचक तरिकाले प्रकाशन गरिएको कृति नै बालसाहित्य हो (प्रमोद प्रधान) ।
यसैगरी पाठ्यपुस्तक र बालसाहित्यमा प्रयोग हुने चित्राङ्कनबारे विश्लेषण गर्दै प्रा.डा.चूडामणि वन्धु लेख्छन्— पाठ्यपुस्तकमा चित्र उदेश्य केन्द्रित र स्थिर हुन्छ । चित्रकारको भूमिका सहायकको रुपमा हुन्छ । चित्रको प्रयोग गतिशील हुन्छ र बालसाहित्यमा चित्रकारको भूमिका स्रष्टाको रुपमा उत्तिकै महत्वपूर्ण हुन्छ । बालसाहित्यको चर्चा हुँदा म एक छेउँमा उभिएर टोलाइरहेको अवस्थामा आफूलाई अनुभव गर्दछु ।
बालसाहित्यलाई हामीले बुझ्न सक्नु पर्छ । तर बालबालिकालाई त सबैले बुझेकै छन् । त्यस बालबालिकाको साहित्यप्रतिको रुचिलाई थोरैले मात्र बुझ्ने प्रयत्न गर्छन् । युग अनुसार बालबालिकाको रुचि पनि परिवर्तन हुन्छ । यो सत्य सर्वप्रथम बुझ्नु पर्ने हुन्छ ।
आफ्नो अध्ययन सीमित भएको कारण प्रारम्भका बारेमा सङ्क्षिप्तमात्र चर्चा गर्न चाहन्छु । यसै प्रसङ्गमा कुरा गर्दै बालकका पूर्व सम्पादक रमेश विकलले २०२३ सालपछि प्रकाशन आरम्भ गरेको बालकले पनि चित्राङ्कनलाई धेरथोर ठाउँ दिएको बताउँछन् । यसरी आफ्नो प्रारुप तय गरेको बालसाहित्यमा चित्राङ्कन पक्ष कतै घिस्रिँदै अनि कतै दौडेर अगाडि बढ्यो ।
निजी क्षेत्रबाट प्रकाशन थालेको रत्न पुस्तक भण्डारले २०२७ पछि कृष्णप्रसाद पराजुलीको ‘सातगेडीको कथा’ र ‘सुनौलो तीन कुरा’ पहिलोपल्ट प्रकाशन थालेर चित्रको एकाध प्रयोग गर्दै लामो समयसम्म चित्राङ्कनको परम्परा धान्नेमात्र काम गर्यो । सन् १९७२ मा अन्तर्राष्ट्रिय पुस्तक वर्ष मनाइयो । कुनै पनि राष्ट्रको इतिहासका निर्माता त्यसै राष्ट्रका जनता हुन् । इतिहास भन्नु नै समयक्रममा आएका व्यक्ति र तिनका कार्यका परिणाम हो ।
जनक, सीता र बुद्ध नेपालमा नजन्मेका भए, पृथ्वीनारायण शाह, बलभद्र र अमरसिंहले यसको निर्माण र संरक्षण नगरेको भए, भानुभक्तले भाषा नदिएको भए र शहीदले रगत नबगाएको भए आज नेपाल अर्को हुने थियो । गरिबै भए पनि नेपाल सधै स्वतन्त्र बनेर जुन स्वाभिमानले बाँचेको छ त्यो कुरा पुर्खाका पौरखबाट नै संभव भएको हो ।
राष्ट्रिय स्वाभिमान र पहिचानका यस्ता कुरा नयाँ पुस्ताका बालबालिकाहरूका हृदयमा जमेर बसेको हुनुपर्छ अनि मात्र नेपाल अझै पनि हजारौं हजार वर्षसम्म स्वतन्त्र भएर बाँच्न सक्छ । जसरी हामी हाम्रा इतिहासका निर्माता हौं त्यसरी नै हामी त्यसका परिणाम पनि हौं ।
आजका बालबालिकाहरूले यस प्रकारको इतिहासको निर्माणका निम्ति धेरै समय पाएका छन् । आजका बालबालिकाहरूका निम्ति यस शताब्दीको पूरै हिस्सा छ, इतिहास निर्माण गर्न । बालबालिकाहरूको आजको जीवन पनि इतिहासकै परिणाम हो । आज हामीसँग यिनीहरूका निम्ति जे जति छन्, ती पनि हामीले पुर्खाबाट पाएका छौं, जे जति बनेका छन् ती पनि इतिहासकै परिणाम हुन् ।
बालबालिकाको मस्तिष्क सुकोमल, स्वच्छ, पवित्र र निष्कलङ्क हुन्छ । तसर्थ उनीहरूको कलिलो मस्तिष्कका लागि सहज, सरल, मनोरञ्जनात्मक, औत्सुक्यपूर्ण र कोमलकान्त भाषिक युक्त बालसाहित्य हुनु आवश्यक छ र बालसाहित्यले सामान्यतया यी प्रवृत्तिहरूलाई आत्मसात गरेको पनि पाइन्छ ।
बालसाहित्यका पाठक वा लक्षित समूह नै बालबालिका भएका हुनाले बालमनोव्यञ्जना बालसाहित्यको मूलभूत विशेषताको रुपमा देखापर्छ । नेपाली बालसाहित्यको इतिहासमा लेख्यरूपमा आउनुभन्दा पूर्वका बालसाहित्यिक सामग्रीहरू साहसिक, अतिरञ्जनात्मक र धार्मिक–नैतिक भावनाबाट अभिप्रेरित देखिन्छन् भने त्यसपछिका बालसाहित्यहरूले ज्ञान विज्ञानका विविध प्रवृत्तिहरूलाई संवरण गरेको पाइन्छ ।
नेपाली साहित्यमा बालसाहित्य लेखन परम्पराको थालनी भएको त्यति धेरै समय भएको छैन । वि.सं. १९५८ मा देवशमशेरको शासनकालमा उपत्यकाभित्र पचास वटा र उपत्यका बाहिर एक सय वटा भाषा–पाठशालामा अध्ययन गराउन बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंहले लेखेको ‘अक्षराङ्कनशिक्षा’ पाठ्यपुस्तक नै पहिलो औपचारिक पाठ्यसामग्री बन्यो । यसमा रहेका छोटा नैतिक–धार्मिक कवितालाई नै लेख्य नेपाली बालसाहित्यको प्रारम्भ विन्दुमान्नु पर्ने देखिन्छ । त्यसभन्दा पूर्व श्रुति परम्परामा बाँचेका लोकगीत–लोककथा नै बालसाहित्यका सामग्री थिए ।
यस आधारमा औपचारिकरुपमा वि.सं. १९५८ लाई नै आधारविन्दु मानेर हेर्दा एक शतकको इतिहास नेपाली बालसाहित्यले संवहन गरेको पाइन्छ । तसर्थ यस अवधिभित्रका नेपाली बालसाहित्यमा देखिएका प्रवृत्तिगत विशेषताहरूमा पनि विविधता देखिनु स्वाभाविकै हो । मूलतः लेखनाथ पौड्याल र चक्रपाणि चालिसेसम्मका बालसाहित्य अधिकांशतः नैतिक आदर्शपरक प्रवृत्तिका देखिन्छन् भने लक्ष्मीप्रसाद देवकोटायताका बालसाहित्यहरूमा प्रकृतिपरकता बढी पाइन्छ र २०३० को दशकयताका बालसाहित्यमा बालपरिवेशपरक प्रवृत्ति बढी पाइन्छ ।
वर्तमानका समसामयिक बालसाहित्यमा बालसंसारका यावत विषयवस्तुका साथै उनीहरूका रुचि, प्रवृत्ति, खेल, ज्ञान विज्ञान र प्रविधि आदि विषयलाई नेपाली बालसाहित्यको अन्तर्वस्तु बनाउने प्रवृत्ति पनि पाइन्छ । छोटो इतिहासमात्र तय गरेको बालसाहित्यको विधामा चित्राङ्कनको राम्रो राम्रो प्रयोग र सिर्जना भएको छ । बालसाहित्यमा चित्राङ्कनको अपरिहार्यता महसुस भएपछि यस क्षेत्रमा कुची चलाउनेहरूको पनि ठूलै जमात देखिन्छ ।
तर सबैका सिर्जना उत्कृष्ट र दोषरहित छैनन् । चित्राङ्कनको आधारमा उत्तम, मध्यम र निम्नस्तरका कला पनि प्रकाशनमा प्रयोग भएका छन् । आज हामीहरूले जे गर्छौ त्यसको परिणाम पनि भोलि हामीले भोग्नैपर्छ, उम्कने उपाय छैन । इतिहास भनेको व्यक्तिले गरेका कामहरू मात्र होइन, तिनका परिमाणको पनि अभिलेख हो ।
राष्ट्रको इतिहास जानेर बालबालिकाहरूले आफ्नो पुर्खाको पौरख थाहा पाउँछन्, उनको सफलता र असफलताहरू, उनका विजय र पराजयहरू पत्ता लगाउँछन् । बालबालिकाहरूका निम्ति इतिहासका कुराहरू र महापुरूषका कथाहरू धेरै किसिमले प्रस्तुत भएका छन्, ऐतिहासिक आख्यान, किशोर जीवनी र बालजीवनीका रूपमा । विश्वसाहित्यको इतिहास हेर्दा केही लेखकले एतिहासिक आख्यान लेखेर योगदान गरेका छन् ।
ऐतिहासिक आख्यान भनेको ऐतिहासिक घटना र परिवेशमा आधारित भई लेखिएको उपन्यास वा कथा हो । यसमा इतिहासका कोरा तथ्यलाई सजीव बनाउन काल्पनिक घटना र पात्रहरूको रचना गरेर आवश्यकतानुसारको सामाजिक परिवेशको निर्माण गरिन्छ । नेपाली भाषामा केही ऐतिहासिक उपन्यास लेखिएका भएपनि बालबालिका वा किशोर–किशोरीहरूका निम्ति नै भनेर लेखिएका ऐतिहासिक आख्यानहरूको सर्वथा अभाव नै छ ।
इतिहासका पात्रहरूलाई प्रस्तुत गर्दै लेखिने अर्को किसिमको विधा जीवनी हो । जीवनी तथ्यमा आधारित साहित्य भएकोले यसको प्रकृति कल्पनामूलक साहित्यका अरु विधाभन्दा फरह हुन्छ । साहित्य भएकै कारणले यसमा भाषाको आकर्षक प्रयोग पाइन्छ । विशुद्ध तथ्यपरक जीवनीहरू त इतिहासमा अभिरुचि हुने प्रौढहरूका लागि मात्र उपयोगी हुन्छन् ।
तर किशोरावस्था विशेष गरी व्यक्तित्व निर्माणको समय भएकोले किशोरहरूका लागि जीवनी बढी उपयोगी हुन सक्छन् । यसै कारण किशोर जीवनी जस्ता किशोरहरूका निम्ति लेखिएका जीवनीले बालसाहित्यका विशिष्ट विधाका रुपमा बेग्लै पहिचान बनाएको पाइन्छ । यस सत्यलाई स्वीकरगरेको हुँदा धेरैजसो बालसाहित्यकार जीवनी लेखनमा संलग्न भएको पाइन्छ ।
जीवनी लेखन वास्तविकताको आधारमा लेखिनु पर्दछ । जीवनी लेखन बालसाहित्यकारले तथ्यपूर्ण सत्यलाई प्रकट गर्नु पर्दछ । भाषाको चमत्कार देखाउन भ्रमपूर्ण लेखन द्वारा अवास्तविकलाई वास्तविक भन्नु हुँदैन । जीवनी लेखन सत्यको आधारमा लेखिनुपर्दछ ।
हुन पनि संसारका महापुरूषको जीवनी पढेर प्रेरणा लिनसक्ने समय पनि १२ वर्ष पछिको किशोरावस्था नै हो । किशोर–किशोरीहरूलाई उनीहरूको व्यक्तित्व निर्माण गर्न उनीहरूका निम्ति लेखिएका किशोर जीवनी दिएर महापुरूषहरूप्रति श्रद्धा जगाई तिनीहरूलाई सुमार्गका यात्री वनाउन सकिन्छ । साना बालबालिकाहरूका लागि जीवनीहरूलाई जीवनी मालाका रूपमा प्रकाशित गर्ने चलन पनि छ । बालबालिका ज्ञानका भोका हुन्छन् । उनहरूमा पनि साहित्यप्रति झुकाव हुन्छ । महापुरूषका जीवनीहरूलाई सरल भाषा र आकर्षक शैलीमा प्रस्तुत गरेर बालबालिकाहरूका निम्ति उपयुक्त बनाइन्छ ।
यस्ता जीवनीपूर्ण वा आंशीक पनि हुन्छन् । पूर्ण जीवनीमा व्यक्तिको पूरै जीवन कथा हुन्छ भने आंशिकमा व्यक्तिको कुनै अंश मात्र प्रस्तुत हुन्छ । इतिहासमा जोड दिएर त्यसलाई प्रामाणिक र वस्तुगत बनाउन सकिएला र व्यक्तिका रुपमा प्रस्तुत गरेर चरित्रचित्रणमा प्रकाश पार्न पनि सकिएला । यस अवस्थामा हुनसक्छ व्यक्तिका सकारात्मक पक्षलाई प्रकाशमा ल्याइएला र नकारात्मक पक्षलाई हटाइएला अनि कतिपय किवदन्तिमूलक विषयको समावेश पनि गरिएला । तर अनावश्यक, मनगढन्त र काल्पनिक कुराको समावेश भने त्यति उपयुक्त नहोला । साहित्यिक कृति भएकाले जीवनीमा आकर्षक शैलीको अपेक्षा त गरिन्छ नै । प्रत्येक बालक प्रकृतिको मूर्त रूप हो । उसभित्र प्रौढ वर्गले नसोचे जस्तो विद्वान द्रष्टाले नदेखे जस्तो र वैज्ञानिकले विश्वासै नगरे जस्तो अलौकिक संसार हुन्छ ।
आकर्षक नभएमा जीवनीको साहित्यिक महत्व कम भइदिन्छ । नेपाली भाषामा केही जीवनीहरूका संकलक निस्केका छन् र ती लोकप्रिय पनि भएका छन् । तैपनि नेपाली बालबालिकाहरूका निम्ति भनी तयार गरिएका ऐतिहासिक व्यक्तिका जीवनीको पूरै कथा भएको पूर्ण जीवनीको संख्या भने कमै छ । जीवनी तथ्यमा आधारित भए पनि कला हो, निर्माण हो, मानिसको जीवन जस्तै ।
महापुरुषका जीवनी पढेर बालबालिकाहरूले के थाहा पाउँछन् भने ती विश्वप्रसिद्ध व्यक्तिहरू पनि केटाकेटी बेलामा आफु जस्तै थिए, तर निरन्तरको अध्ययन, परिश्रम, लगन र साधनाले गर्दा तिनीहरू प्रसिद्ध भए, अमर भए । व्यक्तिका निम्ति अनेक मार्ग छन्, जुन मार्गमा लागे पनि हुन्छ, सफल हुनुपर्छ, त्यसका निम्ति महापुरूषको जीवनीहरू पथप्रदर्शक बन्न सक्छन् ।
त्यसकारण आफ्ना बालबालिकाहरूलाई तिनका पुर्खासँग परिचित गराउनुहोस्, इतिहासको जानकारी दिनुहोस् र संसारका महापुरूषहरू कसरी महापुरूषबने भन्ने कुरा थाहा पाउने राम्रा जीवनीहरू छानेर दिनुहोस् ।
बालक सफा सेतो कोरा कागत हो जसमा कुनै दाग हुँदैन । दागरहित यस्तो बाल मस्तिष्कमा सरल, आकर्षक र ज्ञानबद्र्धक चित्राङ्कन सहितको उत्कृष्ट साहित्य दिएर सुसंस्कृत बनाउनु पर्दछ ।
बालसाहित्यमा रुचि राख्ने वा समर्पित भएर लाग्ने सबैको दायित्व भनेको सकेसम्म दोषरहित, उत्कृष्ट बालसाहित्य उपहार दिएर बालबालिकाको स्वस्थ विकासमा सहयोग पुर्याउनु पर्छ ।
अनि आजको आधुनिक युगमासमेत केटाकेटीलाई परमपरागत शैलीमा अक्षर घोटी–घोटी मात्रा पिलाएर विद्धान बनाउने कल्पना गर्नुभन्दा सृजनशीलता सँगसँगै ज्ञानआर्जन हुने खालको खेल र साहित्य सम्बन्धी मनोरञ्जन श्रव्य, दृष्य शिक्षण पद्धति अवलम्बन गर्नु प्रभावकारी हुन्छ । असल बालसाहित्यले बालबालिकाको, परिवारको, समाजको, राष्ट्रको र विश्वको नै भविष्य निर्माणमा सहायक हुन अवश्य सहायता गर्दछ ।