कान्ला कान्ला
डाँडा पखेरु
अलौकिक हिमश्रृंखला
कतै सपाट मैदान
धानका बाला नाच्दै
शितल बतास बहँदै
स्वर्गको एक टुकडा
हाम्रो जन्मभूमि
स्वर्गभूमि
फेरि पनि सुनसान बगर जस्तै
घर बने अनगिन्ती
साना, ठूला बने बाटाहरू अनगिन्ती
भत्केका विलय भएका
सडक भएर पनि
परिधान नलगाएका जस्ता
लथालिङ्ग भताभुङ्ग
घरहरू....
घरजस्तो नदेखिएका
कतै देखिन्छ लस्कर
परदेशी बन्न हिँडिरहेका
कतै देखिन्छ लस्कर
नयाँ बिहानी ल्याउने भनेर दौडिरहेका
यहीबीच अचनानक
सडक आफैँ भासिन थाल्छ
भागाभाग लस्कर
नजिककै विशाल पिपलको वृक्षमा
परेवाको जोडीले हेरिरहेका
सडक भासिएको
लस्कर भागिरहेको
परेवा जोडी हात जोडेर
इष्टदेवलाई प्रार्थना गरिरह्यो
हे हाम्रा देशका इष्टदेव !
अब त हाम्रा रखवाला पठाइदिनु
मातृभूमि हो यो मेरो देश
जन्मभूमि !
स्वर्गभूमि !!