पोखरा । तीन ओटा कसूरमा मुद्दा दायर भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध आजदेखि थुनछेक बहस हुँदैछ । उक्त थुनछेक बहस पेसीमा तोकिएपछिमात्रै शुरु हुनेछ ।
पेसी गोलाप्रथाको आधारमा हुनेछ । जिल्ला अदालत कास्कीमा ६ जना न्यायाधीश छन् । गोलाप्रथाबाटै उनको मुद्दा कसको भागमा पर्ने भन्ने छिनोफानो हुनेछ ।
गत कार्तिक२ गते पक्राउ परी ३ गतेदेखि कास्की प्रहरीको हिरासतमा रहेका रविमाथि तीन ओटा कसूरमा मुद्दा दायर भएको थियो । जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर गरेको हो ।
जिल्ला सरकारी वकिलको कार्यालयले यही पूरक अभियोगपत्रबाट कारबाही शुरु गर्नसमेत माग गरेको छ । लामिछानेमाथि अन्तिमपटक थपिएको म्याद गत शुक्रबार सकिएको भए पनि शनिबार सार्वजनिक बिदाका कारण आइतबार मात्रै उनीविरुद्ध मुद्दा दर्ता गरिएको हो ।