arrow

सहकारी ठगी प्रकरण

सहकारी ठगीः छविको बयान सकियो, रविको पालो अझै आएन

रवि लामिछाने सहितलाई अदालत उपस्थित गराउँदा सबैतिरका सडक बन्द गरिँदा नागरिक मर्कामा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष ९ मंगलबार
rabi-chhabi.jpg
तस्बिर – फाइल, रवि र छवि ।

पोखरा । सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएका पूर्वडीआइजी छविलाल जोशीको बयान दुई दिन लगाएर सकिएको छ । उनको बयान सोमबारदेखि शुरु भएको थियो । 

जोशीको बयान सकिए लगत्तै सहकारी ठगीकै मुद्दाकी लीला पछाईंको बयान शुरु भएको कास्की जिल्ला अदालत स्रोतले जनाएको छ । जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा बयान जारी छ । 

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा आइतबार मुद्दा दायर भएको थियो । पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीमा सहकारी ठगीको आरोपमा मुद्दा दर्ता भएको छ । लामिछानेको बयान बुधबार मात्रै शुरु हुन सक्ने बताइन्छ ।

बयानका लागि रवि, छवि, लीला, व्यवसायी रामबहादुर खनाललाई आज पनि अदालतमा उपस्थित गराइएको हो । बिरामी परेका कारण अर्का आरोपी कृष्ण गुरुङलाई भने आज अदालतल उपस्थित गराइएको थिएन । 

उनीहरुविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसूरमा आइतबार मुद्दा दायर भएको हो । उनीहरुविरुद्ध दायर भएको अभियोगपत्र चार सय २७ पृष्ठ लामो छ ।

पूर्वगृहमन्त्री लामिछानेमाथि रु २७ करोड ८९ लाख ४४ हजार सात सय बिगो दाबी गरिएको छ ।

यस्तै जोशीविरुद्ध रु ७४ करोड ३४ लाख ७१ हजार तथा अन्य व्यक्तिलाई पनि कसूरअनुसारको बिगो र सजायको मागसहित अभियोगपत्र दर्ता गरिएको हो । 

यस्तै लामिछानेसहित १९ जनाविरुद्ध संगठित अपराध र ३१ जनाविरुद्ध सहकारी ठगीमा मुद्दा दायर गरिएको छ । सहकारी ठगी प्रकरणमा हालसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको बताइन्छ ।

सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा सभापति लामिछानेसहित विभिन्न व्यक्तिविरुद्ध सजायको माग दाबीसहित अभियोगपत्र दर्ता भएको जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले बताए ।

सहकारी बचत रकम अपचलन गरेको आरोपमा लामिछाने गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए ।

उनीमाथि कास्कीसहित काठमाडौं, चितवन, बारा र रुपन्देहीमा समेत सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेको छ ।

अदालतमा मुद्दा पुगेसँगै रविको सांसद पद निलम्बनमा परिसकेको छ । साथै उनको पार्टी रास्वपाले समेत उपसभापति डीपी अर्याललाई कार्यबाहक सभापति तोकिसकेको छ ।  

दीपेश पुन र निकिता पौडेल पनि दोषी

अदालतमा मुद्दा दायर हुँदा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन र रवि पत्नी निकिता पौडेलको नाम पनि उल्लेख गरिएको छ ।

पुन सहकारीका बचतकर्तालाई विश्वास दिलाउने, आकर्षक ब्याजदरको प्रलोभन देखाउनेलगायतका कार्यबाट गैरकानूनी लाभ लिने कार्यमा संलग्न देखिएको निष्कर्ष निकालिएको प्रहरीले जनाएको छ ।

पुनले आफूसँग मतभेद हुने व्यक्तिलाई सहकारीबाट राजीनामा गर्न लगाएको, आफू र आफ्नो समूहको नियन्त्रणमा राखी सोही समूहमा रहेका अर्का प्रतिवादी भूपेन्द्र राई समेतको मिलेमतोमा बुटवलस्थित सुप्रिम सहकारीमा सञ्चालक समितिको सचिव रहेको पाइएको छ ।

उनले काठमाडौँस्थित स्वर्णलक्ष्मी सहकारीमा आफ्नो श्रीमती रविना आलेलाई सञ्चालकमा राखेर आफू अनुकुल निर्णय गराएको, सूर्यदर्शन सहकारीबाट ऋण लिएको देखिएको अभियोगपत्रमा उल्लेख छ ।

उनले बचत अपचलन गर्ने क्रममा आफ्नो वास्तविक नाम नलेखेकोसमेत खुलेको अभियोग पत्रमा उल्लेख छ ।

यसैगरी पौडेललाई सम्पत्ति जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको हो । सम्पत्ति जफत प्रयोजनको लागि उनलार्य प्रतिवादी कायम गरिएको बताइन्छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पौडेललाई पनि प्रतिवादी बनाएर अभियोग पत्र दायर गरिएको छ । 

सडक बन्द गरिँदा नागरिक समस्यामा

रवि लामिछानेसहितलाई अदालत उपस्थित गराउँदा सबैतिरका सडक बन्द गरिँदा नागरिक मर्कामा परेका छन् ।

उनीहरुलाई अदालत लगिएपछि आसपासका सडक वाईचोक, राष्ट्रबैंकचोक, जरेबर, मासबारको दुई स्थान लेकसाइडतर्फ सडक तथा अन्य भित्रि सडक बन्द हुने गर्दछ । रास्वपा र सहकारी पीडितकाे आन्दाेलनलाइ ध्यानमा राख्दै प्रशासनले निषेधित क्षेत्र ताेकेकाे हाे । 

जिल्ला प्रशासन, वडा प्रहरी कार्यालय, मोलपोत कार्यालयसहित अधिकांश सरकारी कार्यालय सोही क्षेत्रमा छन् । सडक बन्द हुँदा सो कार्यालयका सेवाग्राही टाढाबाट हिंडेर आउनु पर्ने बाध्यता छ ।

बिहान १० देखि साँझ ५ बजेसम्म सडक बन्द हुँदा सो क्षेत्रका वासिन्दा प्रताडित भएका छन् । राज्यले एउटा व्यक्तिका लागि लाखौँ जनतालाई दुःख दिएको उनीहरुको गुनासो छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ