सूर्यदर्शन सहकारी ठगीमा पूर्व सांसद गुरुङसहित दुई पक्राउ
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १० बुधबार
960
Shares
पोखरा । पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पूर्व सांसद मीना गुरुङसहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले मंगलबार साँझ पूर्वसांसद मीना र आरती गुरुङलाई पक्राउ गरेको हो ।
प्रहरीले फरार प्रतिवादी भनेर मुद्दा अघि बढाएसँगै मीनाले मंगलबार स्पष्टिकरण दिँदै आफू फरार नरहेको घरमै रहेको जनाएकी थिइन् । लगत्तै खटिएको प्रहरीले उनलाई पोखरा-१२ रानीपौवास्थित निवासबाटै पक्राउ गरेको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।
सौन्दर्यकर्मी व्यवसायीसमेत रहेकी मीना नेकपा एमालेबाट समानुपातिक गण्डकी प्रदेशको सांसद बनेकी थिइन् । उनी सूर्यदर्शन सहकारीको सञ्चालक समितिको पूर्व उपाध्यक्ष हुन् ।
यस्तै पोखर-२७ घर भइ चिप्लेढुंगा बस्दै आएकी आरती गुरुङ सोही सहकारीको पूर्वकोषाध्यक्ष हुन् । उनलाई पनि पहरीले पोखराबाट पक्राउ गरेको हो ।
उनीहरू सूर्यदर्शन सहकारीको पूरक अभियोग पत्रमा फरार प्रतिवादी थिए । उनीहरूलाई बुधबार अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ ।