लोकप्रियतावाद र अराजकतालाई सञ्चार क्षेत्रले प्राथमिकता दिनु हुँदैन - ईश्वर पोखरेल [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १० बुधबार
556
Shares
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सञ्चार जगतले लोकप्रियतावाद र अराजकतालाई प्राथमिकता दिन नहुने बताएका छन् । पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उनले नेपाली राजनीतिकमा पछिल्लो समय लोकप्रियतावाद र राजनीतिमा अराजकता मौलाउँदै गएको बताए । उनले पपुलिजम र राजनीतिकमा अराजकताका विषयमा ध्यान दिन जरुरी रहेको बताए ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले सञ्चार जगतले पत्रकारिताको माध्यमबाट राजनीतिक पार्टीहरूका कमजोरीहरू बाहिर ल्याएर सुधारको लागि सकारात्मक दबाब सिर्जना गर्नुपर्ने बताए । उनले नेपालमा गौरवशाली इतिहास बोकेका राजनीतिक पार्टीहरू रहेको बताए । उनले राजनीतिक अराजकता र लोकप्रियतावादको पछाडि लागेर सञ्चार क्षेत्र अघि बढ्दा मुलुकको लागि दुर्भाग्य हुने बताए । उनले पत्रकारिता पनि राजनीतिक अराजकता र लोकप्रियतावादबाट जोगिन जरुरी रहेको बताए ।
उनले भने,‘ पछिल्लो समय राजनीतिकमा अराजकता र पपुलिजम देखा परेको छ । यी दुई कुराले जरा फैलाउँदै छ । अराजकताको एउटा र पपुलिजमको अर्को समूह छ । यी दुवै कुरालाई हामीले ख्याल गर्नुपर्ने छ । राजनीतिक पार्टीहरूका कमजोरीहरू छन् त्यसलाई सञ्चार जगतले देखाउनु पनि पर्छ । सुधारको लागि सकारात्मक दबाब सिर्जना गर्नुपर्छ । सबैले बुझ्नुपर्ने कुरा नेपालमा गौरवशाली इतिहास बोकेका राजनीतिक पार्टीहरू छन् । भविष्यको मार्गचित्र बनाएका राजनीतिक पार्टीहरू छन् । मार्गचित्र पूरा गर्नको लागि सङ्गठनात्मक सामर्थ्य र कार्यक्रममा निर्देशित छन् । गौरवशाली इतिहास र भविष्यको मार्गचित्र छैन । मार्गचित्र पूरा गर्ने सङ्गठनात्मक सामर्थ्य र कार्यक्रम छैन । तर पपुलिजमका चिप कुराहरूका आधारमा अघि बढेका छन् । त्यसको पछि लागेर सञ्चार क्षेत्र अघि बढ्यो भने यो दुर्भाग्य हुन्छ । यसमा हामी सबैको ध्यान जान जरुरी छ । राजनीतिक अराजकता र पपुलिजमबाट जोगिन जरुरी छ । यसमा हाम्रो ध्यान पुगेन भने मुलुक दुर्भाग्यतर्फ जान्छ । कम्युष्निट र कांग्रेस नेपाली राजनीतिमा मूल भूमिका निर्वाह गर्दै आएका पार्टी हुन् । कांग्रेस र कम्युष्निटको बहुआयामिक सम्बन्ध छ । मुलुकमा अप्ठ्यारो परिस्थिति आउँदा दुई पार्टी मिलेका छन् । सबै क्रान्तिहरू पूरा गरेका छन् ।’