कोमल, नरम, स्निग्ध, पवित्र दूबोहरूलाई
अवलोकन मेरा नेत्रले गरिरहे
एक नायक सुस्तरी सुस्तरी हरियाली दूबोमाथि
आफ्ना पाउ बढाउँदै रहेको देखिरहेँ
झिसमिसे बिहानीमै
उसको मस्तिस्कभित्र
बेचैनी तरंगित भइरहेको अनुभव गरिरहेँ
ऊ छिटो छिटो पाइला
अगाडि बढाउँदै हिँड्दैछ
मैले आफ्ना नयनसँग सोधिरहेँ
किन होला मेरो नयन ऊतिर नै हेरिरहेको ?
सरगमले भन्यो मलाई
उसको लागि तिमीले
गीत गुनगुनाइदेऊ न त
स्वीकारेँ मैले पनि
त्यो गीतका शब्द शब्दले
ऊप्रति कृतज्ञताका फूल छरिरह्यो
ऊ मौन थियो
प्रकृतिको मनोरम पनि मौन नै थियो
अलौकिक वातावरणको बीचमा
‘गीत’ स्वयं एउटा दीव्य आकृतिमा प्रकट भइन्
मलाई ‘आशीर्वाद’ दिँदै थिइन्
म उनलाई बन्दना गर्दै
गीत गाइरहेँ
गाइरहेँ
गीत गाइरहेँ ।