कीर्तिमानी संख्यामा त्रिविका विद्यार्थी दीक्षित [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १३ शनिबार
697
Shares
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले कीर्तिमानी संख्यामा विद्यार्थीहरुलाई दीक्षित गरेको छ । ५०औँ दीक्षान्त समारोहमा त्रिविले शनिबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा विद्यार्थीहरुलाई दीक्षित गरेको हो ।
परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार समारोहमा यस पटक १४ हजार तीन सय आठ विद्यार्थी दीक्षित भएका हुन् । सोही सङ्ख्यामा अभिभावकको समेत सहभागिता रहेको थियो ।
जोशीले गत वर्षभन्दा यसपटक दुई हजारभन्दा बढी विद्यार्थी दीक्षित भएको बताए । स्नातकतर्फ नौ हजार ६८, स्नातकोत्तरतर्फ पाँच हजार ५५, एमफिलतर्फ ६३ र विद्यावारिधि (पीएचडी) तर्फ एक सय २२ जना विद्यार्थी दीक्षित भएका हुन् ।
“गत वर्ष हामीले सबैभन्दा बढी विद्यार्थी दीक्षित गरेर गिनिज बुकमा नाम लेखाइसकेका छौँ”, उनले भने, “यसपटक गत वर्षभन्दा दुई हजार बढी विद्यार्थी दीक्षित भएका छन् ।”
परीक्षा नियन्त्रक जोशीले आगामी वर्षदेखि त्रिवि परिसरमा दीक्षान्त समारोह गर्ने गरी तयारी गरिएको बताए । समारोहमा २०८० असारदेखि २०८१ असार मसान्तसम्म पास भएका ७४ हजार एक सय ४९ विद्यार्थीसहित ६२औँ ग्रेस लिष्टमा भएका विद्यार्थीसमेत दीक्षित भएका छन् । समारोहमा विभिन्न १७ वटा विधिका पुरस्कार वितरण गरिएको छ ।
दीक्षान्त समारोहको प्रमुख अतिथिका रूपमा वरिष्ठ कृषि वैज्ञानिक डा रामप्रसाद यादव रहेका थिए । समारोहमा त्रिविका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओली, त्रिविका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलगायत विद्यार्थी र अभिभावकको सहभागी भए ।