भगवान सहितका परोपकारितामा समर्पित व्यक्तिहरु हेल्प नेपालबाट अभिनन्दित
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १४ आइतबार
591
Shares
काठमाडौँ । परोपकारी संस्था हेल्प नेपाल नेटवर्कको २५औँ वार्षिकोत्सव, रजत महोत्सव तथा ग्लोबल मिट सम्पन्न भएको छ ।
शनिबार राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा हेल्प नेपालले परोपकारिताका क्षेत्रमा समर्पित व्यक्ति तथा संस्थालाई अभिनन्दन गरेको छ । कार्यक्रमका प्रमुख अतिथि विश्वप्रसिद्ध नेत्र शल्यचिकित्सक डा. सन्दुक रुइतले वरिष्ठ हृदयरोग विशेषज्ञ तथा बाल मुटु अस्पतालको निर्माण अभियानमा समर्पित डा. भगवान कोइरालालाई अभिनन्दन गरे ।
त्यस्तै डा. रुइतले ‘मानव सेवा आश्रम’ हेटौंडाका समाजसेवीहरू रामजी अधिकारी तथा सुशीला (रुपा) केसी र अटिजम भएका बालबालिकाको सेवामा समर्पित ‘विशेष स्कुल तथा पुनस्र्थापना केन्द्र (एसएसडीआरसी)’की संस्थापक तथा समाजसेवी सविता उप्रेतीलाई अभिनन्दन गरे ।
उक्तअवसरमा हेल्प नेपालले मुगुका विर्खबहादुर रोकाया तथा अन्य सहयोगीहरू कर्णबहादुर बुढा, डा. अरुणा उप्रेती, भरत कोइराला, सूर्यनारायण यादव, किरण भण्डारी, नन्दकृष्ण जोशी र देवेन्द्र बस्नेतलाई कदर पत्र प्रदान गर्यो ।
सोही अवसरमा नेटवर्कले संस्थालाई प्रारम्भिक समयमा नगद राशि प्रदान गर्दै सहयोग गर्ने सिद्धार्थ राणा, डा. रुद्र पाण्डे, डा. उपेन्द्र महतो, जीवा लामिछाने, महन्त श्रेष्ठ, एलिशन, स्व. मनोज बस्नेत, भण्डारी ब्रदर्श, स्वर्णिम वाग्ले, सारिका मिश्र, रवीन्द्र मिश्र, अनिल थापा, डा. सुन्दरमणि दीक्षित, चन्द्र योञ्जन, वीरेन्द्रबहादुर बस्न्यात, स्व. पूर्णमानसिंह बस्नेत, सुविन बराल, श्रद्धा टन्डन, बद्रीप्रसाद पाण्डे, डा. प्रणव ज्ञवाली, शम्भु दहाल, शिव सैँजु, रोशन सापकोटा, चिरञ्जीवी ढकाल, उद्धव भट्टराई गरेर २५ जनामध्ये कार्यक्रममा उपस्थित व्यक्तित्वहरूलाई सम्मानित गर्यो ।
कार्यक्रमका प्रमुख अतिथि डा. सन्दुक रुइतले हेल्प नेपाल नेटवर्कले गरेको कामको प्रशंसा गर्दै संस्थाले डायस्पोरालाई फूलको माला झैँ बनाएर राखेकोमा खुसी व्यक्त गरे ।
डा. रुइतले भने, “आज नेपालीहरू संसारको कुनाकुनामा छन् । उहाँहरू नेपालका लागि बौद्धिक सम्पति हुनुहुन्छ । त्यसैले उहाँहरूले आएर आफूले सिकेको कुरा हामीलाई सिकाउनु पर्छ ।”
नेटवर्कका अध्यक्ष अरुणसिंह बस्नेतले २५ वर्षसम्म साथीहरूबाट मिलेको सहयोग र सद्भावको चर्चा गर्दै आगामी दिनमा पनि त्यही गतिमा काम गर्दै जाने प्रतिबद्धता जाहेर गरे ।
अभिनन्दित व्यक्तित्वहरू डा. भगवान कोइराला, सविता उप्रेती र रामजी अधिकारीले यो अभिनन्दनले आफूहरूलाई काम गर्न थप प्रेरणा र उर्जा मिलेको बताए ।
कार्यक्रममा डा. उपेन्द्र महतोले नेपालीहरूले देश बनाउने संकल्प गरे देश अवश्य पनि बन्ने धारणा राखे । संस्थाका सल्लाहकार पूर्वमन्त्री शंकरप्रसाद कोइरालाले हेल्प नेपालसँग जोडिने विश्वभरिका नेपालीप्रति आभार व्यक्त गरे ।
सोही अवसरमा ग्लोबल कोअर्डिनेटर दिला खरेलले ‘जुन रूपमा सकिन्छ परोपकार गरौँ’ भन्ने सबैसँग अपिल गरे ।
उक्त अवसरमा डा. लता घिमिरे, डा. राजु अधिकारी, रघु त्रिपाठी, हर्ष गौतमले हेल्प नेपालसँगको आवद्धता र यस्ले गरेका कामका बारेमा चर्चा गरे ।
व्यावहारिक परोपकारमा विगत २५ वर्षदेखि क्रियाशील हेल्प नेपाल नेटवर्कले मुगुको मुर्मामा हेल्थ पोस्ट, धुलिखेलमा बाल आश्रम सञ्चालन गर्दै आएको छ भने शिक्षा, स्वास्थ्य र आपतकालीन विपद्को परिस्थितिमा सेवा र सहयोग गर्दै आएको छ ।
सम्पन्न ग्लोबल मीटमा अध्यक्ष अरुणसिंह बस्नेतले ग्लोबल कोअर्डिनेसन समिति गठन गरिएको जानकारी गराए । समितिको संयोजकमा अस्टे«लियाका दिला खरेल रहेका छन् भने अन्य जिम्मेवारीमा भगीरथ योगी, डा. राजु अधिकारी र रोशेन्द्रध्वज खड्का रहेका छन् ।