रास्वपा भित्रैका नेताहरु रवि लामिछानेलाई जसरी पनि जेल हाल्नमा कम्मर कसेर लागे- डा मुकुल ढकाल
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २२ सोमबार
3.4k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व महामन्त्री डा मुकुल ढकालले सभापति रवि लामिछानेलाई पार्टी भित्रकै नेताहरुले जेल हाल्नका लागि कम्मर कसेर लागेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै उनले रविलाई स्वार्थी समूहले घेरा हालेकोसमेत उल्लेख गरेका छन् ।
पार्टीबाट निष्काशित ढकालले आफूले कयौँ प्रयास गर्दा पनि सहकारी ठगी प्रकरणमा मुद्धा खेपिरहेका रविलाई प्रहरीको हिरासतमा गएर भेट्न नपाएको भनी दुःखेसो गरेका छन् ।
उनले आफ्ना कुरा रवि लामिछानेले एकछिन सोचेको भए अहिलेको परिस्थिति नआउने दाबीसमेत गरेका छन् ।
यस्तो लेखेका छन् उनले स्टाटस– सम्झानामा असार ०७ र १७, २०७९ ।
अहिले पार्टीमा हाली मुहाली गर्नेहरूलाई असार ०७ र असार १७, २०७९ मा के भएको थियो, त्यो पनि थाहा छैन होला । जोखिम बेहोर्यौँ हामीले, मिहिनेत गर्यौँ हामीले, बुद्धि बगायौँ हामीले, पैसा खन्यायौँ हामीले तर आज .....
रवि दाइ भन्नु हुन्थ्यो, "मुकुलको शैली फरक होला, तर सत्य बोल्छ । उसको कुरा सिरियसली लिन पर्छ । मुकुलले जे बोल्छ, पार्टी र देशका लागी बोल्छ । तर केहि शैलीगत समस्या छन्, विस्तारै सुधार हुँदै जान्छ, मैले बुझेको छु, म तपाईंहरूलाई बुझाउँछु, चिन्ता नलिनु ।" यी कुराहरू रवि दाइले मसँग मात्र होइन, केन्द्रीय समितिमा गर्नु भएको छ, पार्टीका स्थानीयदेखि केन्द्रसम्मका सबै नेतासँग वन टू वन कुरामा पनि यहि भन्नुहुन्थ्यो ।
तर देश सानो टिमले बन्दैन । ठूलो टिम चाहिन्छ । अझ टिममा देशको अर्थतन्त्र बुझेको दरिलो साथी चाहिन्छ । त्यहि सोचेर, हामीले केहि साथीहरू भित्रायौँ तर समयक्रमले तिनीहरूलाई जे कुराका लागी ल्याएका थियौँ, सोच्यौँ देशका लागी बोल्छन्, जनताका लागी बोल्छन्, विज्ञ छन्, देश बनाउने केहि फर्मुला निकाल्छन्, तर हामी गलत सावित भयौँ, आएकै दिनबाट राजनीति गर्न शुरू गरे ।
राजनीतिक खेल यति साह्रो खेलिसकिएको रहेछ की , मुकुलको कुरा म बुझ्छु भन्ने रवि दाइलाई , "दाइ, अब यस्तो तालले जेल जानुहुन्छ" भनेर खबरदारी गर्दा , रवि दाइले पनि मेरो कुरा बुझ्न छोडिसक्नु भएछ । दाइलाई घेराबन्दीमा पारिसकेछन् । मुकुलले सत्य बोल्छ, बुझ्न जान्नुपर्छ भन्ने दाइले नै बुझेनन् । रवि दाइ भन्नुहुन्थ्यो, "मुकुल, तिम्रा कुरा बुझ्ने तरिका म अरूलाई पनि सिकाउँछु ।" तर परिस्थिति बदलिँदै गयो, मेरा कुरा अन्तिममा दाइले नै बुझ्न सक्नु भएन । मैले भनेको थिए, "तपाईंको जिबी राइसँगको मौखिक समझदारी के छ, त्यसले फरक पार्दैन, कानुनमा कागजले बोल्छ, यहाँ कागजले समस्या पारेको छ ।" तर रवि दाइलाई यी खेलाडीहरूले यति बुरूक्क उफारिसकेका रहेछन् कि, मैले भुइँबाट चिच्याएको सुन्नु नै भएन । काश, यदि रवि दाइले मैले सावधान गराएको कुरा बुझेको भए , स्थिति फरक हुन्थ्यो ।
हिरासतमा परेपछी पनि मैले रवि दाइलाई भेट्न खोजे, कानुनी पाटोमा सहयोग गर्न पनि खोजे, तर रवि दाइलाई घेरा हालिसकेका रहेछन् , भेट्न पनि दिएनन् । राजनीतिक रूपमा आफ्नो ठाउँ होला, तर वर्षौँ काम गरेको, मानवीयताको नाताले पनि भेट्न पाउनपर्छ भन्दा पनि खै, रवि दाइको कानमा के के भरे, सामान्य भेट पनि दिएनन् । यिनीहरू जसरी पनि रवि दाइलाई जेल हाल्नमा कम्मर कसेर लागे र आरोप जति ममाथि खनाए । म त बाहिर छु, ६ महिनादेखि , तर पनि आरोप लागिरह्यो । म भनिरहे, मैले सावधान गराइरहे, तर कहिले गँजेडी र कहिले हैसियत के भनेर म विरूद्ध जनतालाई गुम्राहामा पारिरहे , मेरा कुरामा रवि दाइलाई एकछिन सोच्न पनि दिएनन् । यदि मेरा कुरा गम्भिर भएर सोचेको भए, आजको स्थिति विलकुल फरक हुन्थ्यो ।
(तस्बिरमा असार १७, २०७९ मा पार्टी दर्ता भएको प्रमाणपत्र सहित रवि दाइ, म र डीपी सर)