जय ट्रफी क्रिकेटमा मधेसविरुद्ध पुलिस हावी, आर्मीविरुद्ध बागमती संघर्ष गर्दै
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २४ बुधबार
627
Shares
काठमाडौँ । जनकपुर र वीरगञ्जमा भइरहेको जय ट्रफी मेन्स एलिट कप क्रिकेटका दोस्रो चरणका खेल भइरहेका छन् ।
पहिलो खेलमा चार वटै टिमको ब्याटिङ खस्किएकामा दोस्रो चरणमा भने उतारचढाव देखिएको छ ।
पहिलो खेलमा मधेस प्रदेशले बागमती प्रदेशसँग तथा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबसँग बराबरी खेलेको थियो । योगफल भने निकै नै कम बनेको थियो ।
बुधबारदेखि दोस्रो चरणका खेल भइरहेका छन् । दुई दिवसीय खेलमा वीरगञ्जमा मधेस प्रदेशले नेपाल पुलिस क्लबसँग खेलिरहेको छ । मधेसले टस हारेर पहिले ब्याटिङ गर्दै ४२.४ ओभर क्रिजमा टिकेर १२९ रन बनाउन सक्यो ।
मायान यादवले ५९ रन बनाएको इनिङ्समा तीन खेलाडीलेमात्र दोहोरो स्कोर खडा गरे । आकर्षक बलिङ गर्ने क्रममा गुल्सन झाले ५ तथा कुशल भुर्तेलले २ विकेट लिए । ललित राजवंशी १ विकेटमै सीमित भए ।
जवाफमा पुलिसले पहिलो दिनको समाप्तिसम्म ३ विकेटको क्षतिमा १७४ रन बनाएको छ । कुुशल भुर्तेल ६३ तथा दिलिप नाथ ४० रनमा आउट भए । ४५ रनको अग्रता बनाइसकेको पुलिसलाई दोस्रो दिन अमित श्रेष्ठले ३४ तथा कप्तान आरिफ शेखले १३ रनबाट अगाडि बढाउने छन् ।
त्यस्तै जनकपुरमा त्रिभुवन आर्मीले बागमती प्रदेशसँग खेल्दै गतिलो योगफल जोडेको छ ।
पहिलो ब्याटिङ गरेको आर्मीले ६० ओभरमा ५ विकेटको क्षतिमा २७६ रन बनायो । इमरान शेखले ७४, बसिर अहमदले अविजित रहँदै ५३, तिर्थराज दासले ४४ तथा कुशल मल्लले अविजित रहँदै ३५ रन जोडे । बिपिन आचार्यले ३ तथा सन्दीप लामिछानेले २ विकेट लिए ।
जवाफमा बागमतीले पहिलो दिनको समाप्तिसम्म २२ ओभर खेल्दै ५ विकेटको क्षतिमा १२४ रन बनाएको छ । शुभ शंकरले ३४ तथा उत्तम मगरले २८ रन बनाए । बिहीबार नन्दन यादवले १८ तथा बिपिन आचार्यले १ रनबाट अगाडि खेल्नेछन् । बागमती अझै १५२ रनले पछाडि छ ।
आकाश चन्दले ३ तथा सोमपाल कामीले २ विकेट लिएका छन् ।
एक आपसमा दुई दिवसीय खेल खेलेपछि शीर्ष दुई टिमले उपाधिका लागि तीन दिवसीय फाइनल खेल खेल्नेछन् ।