सहजपुर-निगाली सडक स्तरोन्नतिका लागि सम्झौता प्रक्रिया अन्तिम चरणमा
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २६ शुक्रबार
539
Shares
गोदावरी (कैलाली) । कैलालीको चुरे गाउँपालिकामा झण्डै १५ किलोमिटर सडक स्तरोन्नतिको काम अघि बढ्ने भएको छ । विश्व बैङ्कको ऋण सहयोगमा प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमअन्तर्गत चुरे गाउँपालिकाको सहजपुर-निगालीसम्म १४ दशमलव ८५ किलोमिटर सडक स्तरोन्नति गरिने भएको हो ।
प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम प्रादेशिक आयोजना व्यवस्थापन इकाइ धनगढीका प्रमुख जगतराज जोशीले सहजपुरदेखि गाउँपालिकाको केन्द्रसम्म सडक स्तरोन्नति हुने जानकारी दिए । सहजपुरदेखि चुरे गाउँपालिकाको केन्द्रसम्म साढे छ मिटर चौडाइ र त्यसपछि सिङ्गल लेन सडक कालोपत्र हुने उहाँले बताए । उक्त सडक स्तरोन्नतिका लागि ठेक्का आह्वान गरी सम्झौता प्रक्रिया अन्तिम चरणमा पुगेको आयोजना व्यवस्थापन इकाइ कार्यालय धनगढीले जनाएको छ ।
इकाइ प्रमुख जोशीले सडक क्षेत्रमा पर्ने रूख कटानका लागि आवश्यक प्रक्रिया सुरु गरिएको र सो काम सकिएपछि सडक स्तरोन्नतिको काम सुरु हुने बताए ।
यसैगरी, चुरे गाउँपालिका क्षेत्रभित्र ‘ट्र्याक’ खोलिएका कच्ची सडकलाई बाह्रै महिना सञ्चालनका लागि स्तरोन्नतिको काम भइरहेको छ । चौमाला-गर्भा दरबार, चौमाला-खैराला, सहजपुर-अलाडनिगाली, देउराली-मौरे सडकको ठेक्का सम्झौता भई स्तरोन्नतिको काम भइरहेको गाउँपालिकाका इन्जिनियर उमेशराज जोशीले बताए ।
चुरे गाउँपालिकास्थित छवटै वडा गाउँपालिकाको केन्द्रसँग सडक सञ्जालले जोडिएकाले क्रमशः सबै सडकको स्तरोन्नति गर्दै जाने गाउँपालिकाको नीति रहेको उनले बताए ।