रवि लामिछाने थुनामा कि बाहिर बसेर लड्ने भनी आदेश आउन सक्ने
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २ बुधबार
707
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । पूर्व उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज पुनः अदालत लगिँदैछ । लामिछानेको तर्फबाट थुनछेक बहस सकिए पनि जाहेरीवालाको तर्फबाट भइरहेको थुनछेक बहस नसकिएपछि उनी गत आइतबारदेखि काठमाडौँ प्रहरीको हिरासतमा रहेका छन् ।
मंगलबार सार्वजनिक बिदा भएसँगै उनलाई आज अदालत लैजान लागिएको हो । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासमा उनको थुनछेक बहस भइरहेको छ ।
बहस नसकिएको भन्दै आइतबार र सोमबार उनलाई हिरासतमा राख्न आदेश दिइएको थियो । थुनछेक बहस सम्भवतः आजै सकिने भएकाले उनी पुर्पक्षका लागि थुनामा रहने कि बाहिर बसेर कानूनी लडाइँ लड्ने भन्ने आज आदेश आउन सक्ने जनाइएको छ ।
उनलाई अदालत परिसरबाट प्रहरी हिरासतमा लैजाँदा उनका समर्थकहरूले भने बाहिर भने दैनिकजसो नाराबाजी गरिरहेका छन् । प्रहरी हिरासतमा जानुअघि उनले सबैलाइ ‘स्यालुट’ गर्ने गरिरहेका छन् ।
सूर्य दर्शन सहकारी ठगी प्रकरणमा गत कार्तिक २ गते पक्राउ परेका लामिछाने ८४ दिनपछि गत बिहिवार साँझ ६५ लाख रुपैयाँ धरौटी बुझाएर पोखराबाट छुटेका थिए ।
त्यहाँबाट छुटे पनि शुक्रबार काठमाडौँ जिल्ला अदालतमा स्वयं हाजिर हुने भनिए पनि समय अभावका कारण उनी शुक्रबार हाजिर हुन भने सकेका थिएनन् ।
दोस्रो चरणमा उनी तीन दिनदेखि हिरासतमा रहेका छन् ।
कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा भएको रकम अपचलनसम्बन्धी मुद्दामा लामिछाने प्रतिवादी बनाइएकाले काठमाडौँमा पनि थुनछेक बहस भइरहेको हो ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले गत पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गर्न सुझाव दिए पछि सरकारी वकिल कार्यालयले उनी विरूद्दसहित मुद्दा दर्ता गरेको हो ।
उक्त सहकारीबाट ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप लामिछानेसहितमाथि लागेको छ ।
रविलाई यसअघि रुपन्देही, चितवन र पर्सा सरकारी वकिलको कार्यालयले बयान लिइसकेको छ । काठमाडौँको मुद्दापछि उनलाई चितवन, रुपन्देही र पर्साले पनि बोलाउने सम्भावना छ ।