सुप्रिम सहकारी ठगीमा रवि लामिछानेसहित २२ जनाविरूद्ध रुपन्देहीमा मुद्दा दर्ता प्रक्रिया
चितवन र पर्सामा पनि मुद्धा दर्ताको तयारी, सूर्यदर्शनको ६५ लाख तथा स्वर्णलक्ष्मीको ६० लाख धरौटी तिरेर रिहा
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ६ आइतबार
685
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । पूर्व उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र रवि लामिछानेसहित २२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतम मुद्दा दायर भएको छ।
सुप्रिम सहकारीको रकम अपचलनको ठगी तथा संगठित अपराध सम्बन्धी पुरक मुद्दा आइतबार रूपन्देही जिल्ला अदालतमा दर्ता भएको हो।
जिल्ला सरकारी वकिल कार्यालयले २५६ पृष्ठ लामो अभियोग पत्रमा सुप्रिम सहकारीका बचतकर्ताहरूको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको आरोपमा लामिछाने र गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष छविलाल जोशीसहितलाई मुद्दा दायर गरेको हो।
यसअघि जिल्ला सरकारी वकिल कार्यालयले गत वैशाख ३ गते २८ जनाविरुद्ध सहकारी ठगीसम्बन्धी मुद्दा दर्ता गरेको थियो।
त्यतिबेला १ अर्ब ३ करोड बिगो माग गरिएकोमा हाल पुरक अभियोग पत्र दर्ता गर्दै वकिल कार्यालयले लामिछाने र जोशीसहित १७ जनालाई सहकारी ठगी र संगठित अपराधको आरोपमा कारबाही गर्न माग गरेको हो।
इलाका प्रहरी कार्यालय बुटवलले गत पुस २६ गते प्रतिवादीहरूबारे रायसहितको प्रतिवेदन बुझाएको थियो। उक्त प्रतिवेदनको अध्ययनपछि अभियोगपत्र तयार गरी अदालतमा पेश गरिएको हो।
अभियोगपत्रमा लामिछानेको व्यक्तिगत दायित्वमा दुई करोड र सामूहिक दायित्वमा थप दुई करोड गरी चार करोडभन्दा बढी बिगो माग गरिएको छ।
यसअघि कास्कीको सूर्यदर्शन सहकारी र काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पनि लामिछाने र जोशीविरुद्ध मुद्दा दर्ता गरिएको थियो।
सूर्यदर्शन सहकारी ठगी अभियोगमा लामिछाने ६५ लाख धरौटी बुझाएर र जोशी ८८ लाख धरौटी बुझाएर हिरासत मुक्त भएका थिए।
लामिछानेलाई काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जिल्ला अदालत काठमाडौंले ६० लाख धरौटीमा रिहा गरेको थियो।
रूपन्देहीमा पूरक अभियोग दर्ता भएसँगै थुनछेक बहस हुनेछ। यसका साथै चितवन र पर्साका अन्य सहकारी प्रकरणमा पनि उनीहरूमाथि मुद्दा चलाउने तयारी भइरहेको छ।