arrow

अदालत परिसरमै वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि कुटपिट गर्ने रास्वपा कार्यकर्ता पाण्डे पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ७ सोमबार
dinesh-tripathi-attack-rsp.jpg

काठमाडौँ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि अदालत परिसरभित्रै भएको कुटपिट घटनामा एक जना पक्राउ परेका छन् । प्रहरीले हुम्ला अदानचुली गाउँपालिका वडा नम्बर ४ घर भई काठमाडौँ सूर्यदर्शन हाइट बस्ने ३२ वर्षीय महेन्द्र पाण्डेलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पाण्डेलाई टोखाबाट शनिबार नियन्त्रणमा लिइएको हो । परिसर प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार काठमाडौँ जिल्ला अदालतको दक्षिण गेटबाहिर माघ २ गते त्रिपाठीमाथि कुटपिट भएको थियो।

सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको विपक्षमा बहस गरेका अधिवक्ता त्रिपाठीमाथि कुटपिट गरिएको थियो।

सहकारी पीडितको पक्षमा बहस गरेर अदालतबाट बाहिरिइरहँदा त्रिपाठीलाई राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरूको भिडमा रहेका पाण्डेले कुटपिट गरेका थिए।

उक्त घटनामा फरार रहेका अन्य व्यक्तिहरूको खोजी भइरहेको प्रहरी उपरीक्षक अधिकारीले बताए। पाण्डेलाई अनुसन्धानका लागि अहिले प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ।

त्रिपाठीमाथि कुटपिट भएको घटनामा राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना कार्यकर्ता भए कारबाही गर्ने बताएको थियो। प्राप्त विवरणमा पाण्डे उक्त पार्टीको कार्यकर्ता रहे–नरहेकोबारे प्रहरीले उल्लेख गरेको छैन । 

त्रिपाठी भने आफूलाई रास्वपाबाटै धम्की आएकाले कुट्नेहरु अरु कोही नभइ रास्वपाकै कार्यकर्ता भएको बताएका छन् । उनले रास्वपाको नेताको विपक्षमा बहस गर्दा अन्य दलको कार्यकर्तालाई के चासो भनी प्रतिक्रियासमेत दिएका छन् । 

उनले रास्वपाले आफ्नो कार्यकर्ता भए कारबाही गर्ने भनी जारी गरेको विज्ञप्तिलाई नाटक भनी प्रतिक्रिया दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ