रविसहित सातै जनालाई थुनामा पठाउन माग गर्दै उच्च अदालतमा निवेदन
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ७ सोमबार
546
Shares
फाइल तस्बिर
पोखरा । पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणको मुद्दा उच्च अदालत पुगेको छ । सरकारी वकिल कार्यालय कास्कीले यो मुद्दा उच्च अदालतमा पुर्याएको हो ।
मुद्दाको निवेदनमा पूर्वगृहमन्त्री रवि लामिछानेसहित सातै जनालाई पुर्पक्षका लागि थुनामा पठाउन माग गरिएको छ ।
निवेदनमा जिल्ला अदालतको आदेश बदर गरी पुर्पक्षका लागि थुनामै राख्न माग गरिएको बताइएको छ ।
उनीहरुलाई पुस २५ मा कास्की जिल्ला अदालतले धरौटीमा छाडेको थियो । कास्की जिल्ला अदालतमा पुस ८ गतेदेखि यो मुद्दाको थुनछेक प्रक्रिया अघि बढेको थियो ।
कास्की जिल्ला अदालतका न्यायधीश नितिज राईको इजलासले लामिछानेसँग ६५ लाख, पूर्वडीआईजी छविलाल जोशीसँग ८८ लाख, लीला पछाईसँग ३७ लाख, पूर्वप्रहरी एवं व्यवसायी रामबहादुर खनालसँग १५ लाख, पूर्वसांसद मीना गुरुङसँग पाँच लाख, कृष्णबहादुर गुरुङसँग एक लाख र सहकारीका पूर्वकोषाध्यक्ष आरती गुरुङसँग पाँच लाख धरौटी माग गरेको थियो । अदालतले मागेको धरौटी रकम बुझाएर उनीहरु छुटेका थिए ।
लामिछाने, जोशी र खनालविरुद्ध रुपन्देही जिल्ला अदालतमा पनि मुद्दा दर्ता भएको बढेको छ ।
यसअघि काठमाडौँ जिल्ला अदालतबाट लामिछानेले ६० लाख र जोशीले ५० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भइसकेका छन् ।