धरानवासीलाई एक वर्षभित्र पानी खुवाउँछौँ - मन्त्री यादव [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ११ शुक्रबार
623
Shares
काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले धरानमा पानीको समस्या एक वर्षभित्र समाधान गरेर छोड्ने प्रतिबद्धता जनाएका छन् । शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलनका क्रममा उनले पानी दिने काम सङ्घीय सरकारको भएको भन्दै आफ्ना जनतालाई एक वर्ष भित्रमा पानी खुवाउने प्रतिबद्धता जनाए । उनले धरानमा पहिलादेखि नै पानीको समस्या रहेका उल्लेख गर्दै अहिले पनि जग्गा प्राप्तिको समस्या समाधान भए टेन्डर प्रक्रिया अघि बढाउने बताए ।
उनले धरानवासीलाई पानी खुवाउनका लागि करिब ६ अर्ब आवश्यक रहेको भन्दै उनले त्यसका लागि आफूले एडिबीसँग बिहीबार छलफल गरेको पनि बताए । उनले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले स्टण्टबाजी गरेको आरोप लगाए । उनले गाग्रोमा भरेर दिएको पानीले धरानवासीको पानीको समस्या समाधान नहुने बताए ।
उनले भने, ‘धरानमा पानीको समस्या पहिलादेखि नै थियो । धरान लगायत त्यस्तो धेरै डाँडाकाँडामा त्यस्तो समस्या थियो । धरानमा खानेपानी मन्त्रालयको मातहतमा रहेका नेपाल खानेपानी संस्थानले पानी दिइरहेको थियो । तर त्यहाँका बहादुर मेयर सावले अहिलेको होइन । यो भन्दा पहिलाको मेयर सावले बहादुरी देखाए । बहादुरी के देखाए भने खानेपानी मन्त्रालयको जुन नेपाल खानेपानी संस्थान छ । उनीहरुबाट पानी लिँदिन । म आफैँ सक्षम छु, म आफ्ना जनतालाई आफैँ पानी ल्याएर खुवाउँछु भनेर बहादुरी देखाए । खानेपानी संस्थानको सबै अधिकार आफ्नो मातहतमा व्यवस्थापन बोर्ड बनाएर लिइहाल्नु भयो । हाइज्याक गर्नुभयो । तर सक्नुभएन । चुनाव भयो । अहिलेको मेयर साव हर्कजीले पानी ल्याउँछु भनेर कुद्नुभयो । कतै कतै पानी त ल्याए । एउटा वाडमा पनि पुग्दैन । नपुगेपछि केन्द्रलाई गुहार्नुभयो । तर सङ्घले आफ्नो नागरिक, नेपाली जनतालाई पानी दिनको निमित्त आतुर छ, सम्माननीय प्रधानमन्त्रीजीले प्रधानमन्त्रीको जिम्मेवारी पाइसकेपछि र म खानेपानी मन्त्री बनिसकेपछि मलाई बोलाएर १५ दिनपछि धरानको विषयमा भन्नुभयो । त्यहाँ कसरी पानी जान्छ, तयारी गर्नुस् भन्नुभयो । त्यहाँ कसरी दिने भन्ने प्लान बनाएँ । त्यहाँ बजेट ठुलो छ । करिब करिब ६ अर्बको बजेट चाहिन्छ । मैले अर्थमन्त्रीजीलाई समन्वय गर्न गएँ । उनले एडिबीको ऋण सहयोग धरानमा लागू गर्नुस् र धरानका नागरिकलाई खानेपानीको समाधान गर्नुस् । त्यहाँ जग्गाको समस्या छ । स्थानीय निकायले त्यो गर्छ । हर्क साम्पाङजीको काम जग्गा दिलाउने काम गर्नुपर्छ । त्यो सबै काम भएपछि हामी धरानमा खानेपानीको काम गर्छौँ । एडिबीका कन्ट्रि डाइरेक्टरसँग छलफल गरिसकेका छौँ । गाग्रो लिएर जाने, पानी देउ भन्ने । गाग्रीमा पानी भरेर दिएर पुग्दैन, त्यसको लागि बजेट दिनुपर्छ । मिडिया स्टण्ट गर्नु अलग कुरा हो । काम गर्नु अलग कुरा हो । अहिलेको सरकारले प्रधानमन्त्रीको निर्देशन काम गरेर देखाउन भन्ने छ, त्यहीअनुसार काम गरेर देखाउँछौँ । काम गरेर देखाउँछौँ । स्टण्ट गर्दैनौँ । स्टण्ट गर्ने काम स्टेटबाजीको हो । तिनीहरूको पसल त्यसै गरी चल्छ ।’