अन्तिम चरणमा रविको थुनछेक बहस, अदालत बाहिर समर्थक र सुरक्षाकर्मीको बाक्लो उपस्थिति
नारायण वली,
प्रकाशित २०८१ माघ १३ आइतबार
646
Shares
बुटवल । पूर्व उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथिको थुनछेक बहस अन्तिम चरणमा रहेको छ । बिहीबारदेखि रुपन्देही जिल्ला अदालतमा लामिछानेविरुद्ध शुरू भएको थुनछेक बहस आज सकिएसँगै आदेश दिने भएको सूचना दिइएको छ ।
आदेश आजै आउने भएसँगै अदालत परिसर बाहिर रविका समर्थकहरुको बाक्लो उपस्थिति रहेको छ । सुरक्षाकर्मीको संख्या पनि उल्लेख्य रहेको छ ।
सरकारी वकिलको तर्फबाट शुक्रबारै बहस सकिएको भए पनि लामिछानेको तर्फबाट केही वकिलको बहस बाँकी रहेकाले आज उनी अदालतमा उपस्थित भएपछि बहस शुरू भएको थियो ।
सहकारी ठगीमा बुधबार पहिलो पटक रवि रूपेन्देही अदालतमा उपस्थित भएका थिए । सो दिनपछि हाजिरी जमानीमा रिहा भइरहेका छन् ।
रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले उनलाई बोलाएको समयमा उपस्थित हुने सर्तमा पत्नी निकिता पौडेल र कानून व्यवसायीको जिम्मामा छाडिँदै आएको छ ।
आदेशले उनी धरौटीमा रिहा हुने कि हिरासतमा रहेर प्रक्रिया अगाडि बढ्ने भन्ने छिनोफानो गर्नेछ ।
सो सहकारीमा रहेका १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रूपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो । गत बैशाख ३ मा पहिलो पटक मुद्दा दायर भए पनि लामिछानेलाइ भने पुरक उजुरीमा राखिएको हो ।
प्रहरीले सुप्रिम सहकारीबाट १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको र २ करोड रुपैयाँ भने रवि लामिछानेको नाममा ऋण गएको भेटिए पछि उनी माथी उजुरी गरिएको हो ।
उनी यसअघि कास्कीमा ६५ लाख र काठमाडौंमा ६० लाख धरौटी बुझाएर छुटेका हुन् । रुपेन्देहीपछि उनले चितवन र पर्सा पनि अदालतमा बयान दिन जान बाँकी नै छ ।
ती जिल्लाबाट पनि पक्राउ पुर्जी जारी गरेपछि चितवन र पर्सा दुवैमा सरकारी वकिलसमक्ष बयान दिइसकेका छन् ।