रवि लामिछानेसँग रुपन्देही अदालतले माग्यो धरौटीका लागि एक करोड रुपैयाँ
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १३ आइतबार
618
Shares
तस्बिर – फाइल ।
बुटवल । पूर्व उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा हुन रुपन्देही जिल्ला अदालतले एक करोड रुपैयाँ धरौटी मागेको छ । थुनछेक बहससँगै अदालतले आइतबार बेलुकी दिएको आदेशमा रिहा हुन एक करोड रुपैयाँ धरौटी मागेको हो ।
बिहीबारदेखि रुपन्देही जिल्ला अदालतमा लामिछानेविरुद्ध शुरू भएको थुनछेक बहस आज सकिएसँगै आदेश दिएको हो । अदालत परिसर बाहिर रविका समर्थकहरुको बाक्लो उपस्थिति र सुरक्षाकर्मीको संख्या पनि उल्लेख्य रहेको अवस्थामा उक्त आदेश आएको हो ।
अदालतले धरौटी माग्दा प्राप्त प्रमाणबाट लामिछानेले कसूर नगरेको विश्वास गर्नुपर्ने आधार नदेखिएको निष्कर्ष निकालेको छ ।
‘मिसिलमा संलग्न तत्काल प्राप्त प्रमाणबाट यी प्रतिवादी आरोपित कसूर नगरेको विश्वास गर्नुपर्ने मनासिब आधार नदेखिँदा पछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरेबमोजिम हुने गरी हाललाई यी प्रतिवादी रवि लामिछानेलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६८ बमोजिम रु एक करोड नगद धरौट जेथा जमानत वा सर्तरहित (अन कन्डिसनल) बैंक ग्यारेन्टी दिएमा लिई तारेखमा राख्नू । सो बुझाउन नसकेमा कानून बमोजिमको थुनुवा पुर्जी दिई थुनामा राख्न स्थानीय कारागारमा पठाउनू’ आदेशमा भनिएको छ ।
उनी यसअघि कास्कीमा ६५ लाख र काठमाडौंमा ६० लाख धरौटी बुझाएर छुटेका हुन् । एक करोड बुझाउन नसके उनी हिरासतमा बस्नु पर्नेछ ।
रुपेन्देहीपछि उनले चितवन र पर्सा पनि अदालतमा बयान दिन जान बाँकी नै छ ।
ती जिल्लाबाट पनि पक्राउ पुर्जी जारी गरेपछि चितवन र पर्सा दुवैमा सरकारी वकिलसमक्ष बयान दिइसकेका छन् ।
सरकारी वकिलको तर्फबाट शुक्रबारै बहस सकिएको भए पनि लामिछानेको तर्फबाट केही वकिलको बहस बाँकी रहेकाले आज उनी अदालतमा उपस्थित भएपछि बहस शुरू भएको थियो ।
सहकारी ठगीमा बुधबार पहिलो पटक रवि रूपेन्देही अदालतमा उपस्थित भएका थिए । सो दिनपछि हाजिरी जमानीमा रिहा भएका थिए ।
रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले उनलाई बोलाएको समयमा उपस्थित हुने सर्तमा पत्नी निकिता पौडेल र कानून व्यवसायीको जिम्मामा छाडिँदै आएको थियो ।
सो सहकारीमा रहेका १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रूपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो । गत बैशाख ३ मा पहिलो पटक मुद्दा दायर भए पनि लामिछानेलाइ भने पुरक उजुरीमा राखिएको हो ।
प्रहरीले सुप्रिम सहकारीबाट १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको र २ करोड रुपैयाँ भने रवि लामिछानेको नाममा ऋण गएको भेटिए पछि उनी माथी उजुरी गरिएको हो ।