प्रचण्डले सुकिलो राजनीति गर्दै भने – माटोको माया नगर्ने प्रवृत्तिले विदेश जाने क्रम बढ्यो
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १४ सोमबार
2.4k
Shares
तेह्रथुम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले युवा जनशक्तिमा विदेश पलायन हुने कुरामा अवसर भन्दा पनि दृष्टिकोण मुख्य कारण भएको बताएका छन् ।
तेह्रथुम जिल्लाको लसुनेमा धनरूप स्मृति पार्कको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले देशभक्तिको भावना कमी, माटोको माया नगर्ने प्रवृत्तिका कारण विदेश जाने क्राम बढ्दै गएको दाबी गरे ।
नेपालमा रोजगारीको अवसर सिर्जना नभएको, दिनानुदिन मुलुकको अर्थतन्त्र संकुचित भइरहेको, राजनीतिक स्थिरता नहुनु, भ्रष्टाचार बढ्नुलगायत कारणले सक्षम र पढेलेखेका युवायुवती विदेश गइरहेको बेला प्रचण्डले भने यस्तो दाबी गरेका हुन् ।
‘मलाई कता–कता आजभोलि देशभक्तिको भावना कमी हुँदै गएको हो कि ?, आफ्नो माटोप्रतिको प्रेम कमजोर हुँदै गएको हो कि ? भन्ने चिन्ता लागेको छ। म आम समुदायलाई अपील गर्न चाहन्छु। हामी हाम्रा छोराछोरीहरूलाई, हाम्रा सन्ततिहरूलाई देशको माया, माटोको माया हाम्रो प्रकृतिले दिएका साधन स्रोतको सदुपयोग गरेर हामी आफैँ धनी, आफैँ आत्मनिर्भर बन्ने बाटोतर्फ प्रेरित गरौँ । विदेश पठाउन हतार नगरौँ ।’
‘तेह्रथुम विकासले पछि परेको जिल्ला हो । यहाँको अत्यधिक जनसंख्या वैदेशिक रोजगारीमा छ । ‘विदेशमा पनि टुंग्गो छैन। कहाँ के हुने हो। अहिले अमेरिकामा ट्रम्प राष्ट्रपति बनेपछि एउटै आदेशले हजारौं प्रवासीलाई विस्तापित गरिँदै छ। कतिबेला हजारौं नेपालीहरू फर्केर नेपाल आउनुपर्ने हो टुंग्गो छैन। त्यसैगरी, मध्यपूर्वमा पनि कति बेला ठूलो लडाइँ भएर नेपालीहरू फर्किन पर्ने हो टुंग्गो छैन। हामीले आफ्नै देशको माटोमा पौरख गरौँ । स्रोत र साधनको सदुपयोग गरेर देशमै भविष्य खोज्ने वतावरण तयार गरौँ’, उनले भने ।
देश प्राकृतिक साधन स्रोत जनशक्तिको दृष्टिकोणले, नागरिकको मेहनत र पराक्रमका दृष्टिले अब्बल रहेको र क्षमता र साहसकोको दृष्टिकोणले उत्कृष्ट नागरिक नेपाली हुन् भन्ने स्थापित भएका कारण नेपालीहरूले यहाँको सम्भावनालाई अवसरमा बदल्नुपर्ने उनले बताए।
‘हाम्रो देश साधन स्रोतविहीन देश होइन, हाम्रो देश साधान स्रोतले सम्पन्न देश हो। हाम्रो देश प्राकृतिक साधन स्रोत जनशक्तिको दृष्टिकोणले, मिहनेत र पराक्रमका दृष्टिले सबल र क्षमता र साहसकोको दृष्टिकोणले अब्बल मानिस हौं,’ उनले भने।
अध्यक्ष प्रचण्डले आफू भ्रष्टाचारकाविरुद्ध सुशासनको पक्षमा, सामाजिक विभेदका विरुद्ध, सामाजिक न्यायका पक्षमा र आर्थिक पछौटेपनका विरुद्ध आर्थिक समृद्धिका पक्षमा अपिल गर्दै देशको पूर्वदेखि पश्चिसम्म विभिन्न कार्यक्रममा सहभागी भइरहेको दाबी गरे।
प्रचण्ड नेपाली सेनाको हेलिकप्टर लिएर तेह्रथुम भ्रमणमा गएका हुन्। उनीसँग पार्टीका नेता वर्षमान पुन रहेका छन् ।
प्रचण्ड तीन पटक प्रधानमन्त्री भइसकेका छन् । उनले युवा जनशक्तिलाई रोक्न सरकारले चाल्नु पर्ने कदम भने नीतिगत रुपमा केही पनि नगरेको गुनासो ब्याप्त छ ।
सर्वहारा वर्गका नेता भनिए पनि उनले सो वर्गको सम्बोधन नगरेको गुनासो छ । माओवादीकै सशस्त्र द्धन्द्धमा रहेकाहरु कयौँ खाडीमा संघर्षरत छन् ।
माओवादीकै पहुँचवाला नेताहरुका सन्तान युरोप र अमेरिकामा छन् ।