arrow

एमालेको नेतृत्वमा केपीजी रहँदासम्म वामपन्थी एकता सम्भव छैन - प्रचण्ड [भिडियो]

अध्यादेश राष्ट्रिय सभाबाट पारित हुन दिँदैनौँ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २८ सोमबार
prachanda-10-28.jpg

काठमाडौँ  । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली एमालेको नेतृत्वमा रहुन्जेलसम्म वामपन्थी एकता सम्भव नरहेको बताएका छन् ।  सोमबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै  उनले सो कुरा बताएका हुन् । 

उनले भने, ‘एमालेको नेतृत्वमा केपीजी रहँदासम्म नेपालका कम्युनिस्ट एकता, वामपन्थी एकता सम्भव छैन ।'  प्रधानमन्त्री ओली अहिलेको आन्दोलन, परिवर्तन बरबाद गर्न र संविधान खारेज गर्न चाहने व्यक्ति भएको आरोप लगाए । मधेसी जनताको लागि दुई पटक संसद्मा संविधान संशोधनको प्रस्ताव गर्दा प्रधानमन्त्री ओलीले नै रोकोको आरोप लगाए । 

उनले अहिले देशको स्थिति सहज रूपमा अघि बढ्न नसकेको बताए । उनले अध्यादेश राष्ट्रिय सभामा बहुमत पुर्‍याउन नसक्दा अघि बढ्न नसकेको बताए ।  उनले जनता समाजवादी पार्टीले आफ्नो मुद्दा छोडेर समर्थन नगरेको खण्डमा अध्यादेश राष्ट्रिय सभाबाट पारित नहुने जिकिर गरे ।

उनले भने, ‘अहिले स्थिति त्यति सहज गइरहेको छैन । सदन शुरु भएको छ । सदनमा अध्यादेश प्रस्तुत भएका छन् तर ती रोकिएका छन् । तपाईँहरूले राष्ट्रिय सभाको स्थिति बुझिराख्नुभएको होला । त्यहाँ अहिले अगाडि बढ्न सकिरहेको स्थिति छैन । सरकारले जसरी एउटा गलत नियतले सदन बोलाउनुपर्ने बेलामा अध्यादेश ल्यायो । प्रक्रियाको दृष्टिकोण र कतिपय सारको दृष्टिकोणले पनि भूमि सम्बन्धी विषय जसरी ल्याइएको छ, त्यसको उद्देश्य गलत देखिएको छ । त्यस विषयमा पनि सदनमा मैले स्पष्टसँग भनेको छु । हाम्रो ध्यान मधेसको जनतालाई सङ्गठित र परिचालित गर्नेकुरामा केन्द्रित हुन्छ । सरकारले आफूसँग दुई तिहाइ छ भन्ने गरेको छ । दुई तिहाइ भएको सरकारले अध्यादेशको बाटो जानु हुँदैन थियो । दुई तिहाइ हुँदाहुँदै पनि यो सरकार कति कमजोर छ भन्ने कुरालाई प्रमाणित गरेको छ । अहिले प्रस्तुत गरिसकेपछि त्यो रोक्नुपर्ने बाध्यता के हो भने दुई तिहाइ उनीहरूसँग छैन भन्ने देखिन्छ । राष्ट्रिय सभामा बहुमत पुर्‍याउन पनि कठिन छ । बाहिर जसरी चिजहरू आइरहेको छ, जनता समाजवादी पार्टीको । जसपाले भूमि सम्बन्धी अध्यादेशको विधि, प्रक्रियाका बारेमा अडिनुभएको छ । उहाँहरू अडिनुहुन्छ । उहाँहरूले आफ्नो अडान छोड्नुभएन भने राष्ट्रिय सभाबाट अध्यादेश पारित नहुने स्थिति बन्दै छ । ’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ