arrow

सन्दर्भ विश्व रेडियो दिवस

मर्मत गरी रेडियोको आवाज जोगाउँदै ठकुराठी

logo
तर्कराज भट्ट, 
प्रकाशित २०८१ फागुन १ बिहिबार
khadakbahadur-thakurathi.jpg

डडेल्धुरा । डडेल्धुराको सदरमुकामको व्यस्त रहने बागबजारको बगरपाटामा एउटा सानो खोका भित्र रेडियो सेट र मर्मतका औजारहरू सजिलै देख्न सकिन्छ। त्यहीँ बस्छन् ४५ वर्षीय खडकबहादुर ठकुराठी, जसले विगत १२ वर्षदेखि रेडियो मर्मत गर्दै आएका छन्। डिजिटल युगको आगमनले रेडियो सेटको प्रयोग घट्दै गए पनि उनको पेशाप्रति समर्पण भने कहिल्यै घटेन ।

रेडियो एक समयको सर्वाधिक प्रभावशाली सञ्चार माध्यम। सूचना, समाचार र मनोरञ्जनको एकमात्र भरपर्दो स्रोत। तर प्रविधिको तीव्र विकाससँगै रेडियोको परम्परागत स्वरूप परिवर्तन हुँदै गयो।

टेलिभिजन, इन्टरनेट र मोबाइल एपहरूको आगमनले रेडियो सेटको उपयोग घट्दै गएको छ। तर आज पनि रेडियोप्रेमीहरूको ठूलो जमात छ, जसले यसको विश्वसनीयतालाई कायम राखेको छ ।

डडेल्धुराका ठकुराठी पनि यस्तै पात्र हुन्। १२ वर्षदेखि रेडियो मर्मत गर्दै आएका उनी मोबाइल, टिभी र डिजिटल माध्यमको हावी भएको युगमा पनि रेडियोप्रति उत्तिकै समर्पित छन्। रेडियो मर्मत उनको पेशा मात्र होइन, जीवनशैली हो। बिग्रेका रेडियो मर्मतमा अहिले पनि उनको दैनिकी बितिरहन्छ ।

सशस्त्र प्रहरीदेखि रेडियो मर्मत व्यवसायसम्मको यात्राः
भागेश्वर गाउँपालिका–१, डडेल्धुराका ठकुराठी अहिले अमरगढी नगरपालिका–५, बगरपाटामा रेडियो मर्मत गर्छन् । उनको जीवनले धेरै घुम्ती लियो। १६ वर्षसम्म सशस्त्र प्रहरी बलमा सेवा दिएका उनले त्यहाँ रहँदा एक महिने सञ्चार तालिम लिए। यही तालिमले उनलाई जागिरे जीवनपछि नयाँ बाटो देखायो।

सशस्त्र प्रहरीको जीवन त्यति सजिलो थिएन। कडा अनुशासन, कठोर तालिम र देश सेवाको भावना बोकेर उनले समय बिताए। जागिर पछि के गर्ने भन्ने प्रश्न थियो। तर उनले आफूभित्र भएको सीप पहिल्याए, रेडियो र अन्य इलेक्ट्रोनिक सामग्री मर्मत।

१२ वर्षअघि एउटा सानो कोठाबाट सुरु गरेको उनको मर्मत व्यवसाय आजसम्म कायम छ। उनले सुरुवात गर्दा हरेक दिन १५–२० वटा रेडियो मर्मतका लागि आउँथे। आजभोलि भने रेडियो सेट मर्मत गर्न ल्याउनेको सङ्ख्या घट्दै गएको छ।

पहिलो सफलता– खिया लागेको टर्च बनाउँदाको उत्साहः
प्राविधिक क्षेत्रमा काम गर्न सजिलो छैन। प्रारम्भिक चरणमा धेरै चुनौतीहरूसँग जुध्नुपर्छ। खडकबहादुरका लागि पहिलो सफलता खिया लागेको पुरानो टर्च बनाएर आएको थियो। त्यो सफलता सानो भए पनि उसले आत्मविश्वास थप्यो।

उनले ब्यवसायको सुरुमा टर्च बनाए पनि उनी रेडियो लगायत अन्य उपकरण पनि मर्मत गर्दै गए । ‘सुरुमा रेडियो मर्मत गर्दा मानिसहरू आश्चर्य मान्थे,’ उनी भन्छन्, ‘तर जब मेरो काम देखे, विश्वास गर्न थाले।’ ‘काम सानो–ठूलो हुँदैन, मन लगाएर गर्यो भने त्यही ठूलो हो,’ उनी भन्छन्।

लाहुरेले ल्याएका रेडियो मर्मत गर्ने दिनहरूः
एक समय थियो, जब लाहुरेहरू रेडियो र टेप ल्याएर गाउँमा गर्वका साथ बजाउँथे। त्यतिबेला रेडियो सुन्नु प्रतिष्ठाको विषय थियो। नेपालमा मात्र नभई भारतबाट समेत रेडियो सेट ल्याउने गरिन्थ्यो।

‘पहिला लाहुरेहरूले ल्याएका रेडियोहरू मर्मत गर्थें,’ खडकबहादुर सम्झन्छन्, ‘त्यसबेला मानिसहरू रेडियो नेपालबाट आउने समाचार सुन्न भेला हुन्थे।’

रेडियोको पहुँच गाउँगाउँमा थियो। रेडियो सुन्नकै लागि मानिसहरू जमघट गर्थे, देश परदेशका खबर त्यही रेडियोबाट थाहा हुन्थ्यो। सूचना प्रवाहको सबैभन्दा भरपर्दो माध्यम थियो रेडियो।

डिजिटल प्रविधिको आगमनः
प्रविधिको विकासले संसार नै परिवर्तन गरिदियो। सूचना प्रवाहका माध्यम थपिँदै गए। स्मार्टफोन, टेलिभिजन, इन्टरनेट, सामाजिक सञ्जालजस्ता प्लेटफर्मले रेडियोको परम्परागत स्वरूपलाई चुनौती दियो । तर खड्क बहादुर भन्छन्, ‘रेडियो प्रभावित भएको होला, तर विस्थापित भएको छैन।’

आज मोबाइलमै रेडियो सुन्न सकिन्छ। डिजिटल एपहरूबाट सहज रूपमा विश्वभरका रेडियो स्टेसनहरू सुन्ने सुविधा छ। तर गाउँका बुढापाकाहरूका लागि अझै पनि रेडियो सेट नै पहिलो रोजाइ हो।

रेडियो किन अझै पनि लोकप्रिय छ ?
सामाजिक सञ्जालमा गलत सूचना र अफवाहको समस्या व्यापक छ। अनलाइन मिडियाले सूचना छिटो प्रवाह गर्छ, तर विश्वसनीयताको ग्यारेन्टी दिन सक्दैन। रेडियो भने सत्य समाचारको पर्यायवाची जस्तै छ । आज पनि मानिसहरू रेडियोमा आउने समाचारलाई बढी विश्वास गर्छन्।

प्राकृतिक विपद्का बेला, भूकम्प, बाढी, पहिरोजस्ता विपद्को समयमा रेडियो सबैभन्दा भरपर्दो माध्यम हो। गाउँ–गाउँमा कृषि, स्वास्थ्य र सामाजिक सन्देश पु¥याउन रेडियो प्रभावकारी छ।

रेडियो मर्मतमा नयाँ पुस्ताको अरुचिः
रेडियो मर्मत सिक्न चाहनेहरू कम हुँदै गएका छन्। खडक बहादुर चिन्तित छन्, उनी भन्छन् ‘आजको पुस्ता रेडियो मर्मतको सीप सिक्न चाहँदैन। तर रेडियो मर्मत सिके अन्य इलेक्ट्रोनिक उपकरण पनि बनाउन सकिन्छ। यो व्यवसायप्रति युवाहरूको आकर्षण छैन।’ स्थानीय सरकारले यस्ता तालिमहरू सञ्चालन गर्नुपर्नेमा उनको जोड छ ।

रेडियोको भविष्यःः
अबको चुनौती भनेको रे प्रविधिसँगै रेडियोलाई नयाँ ढाँचामा लैजानु हो । स्रोताको चाहना र समाजको आवस्यकता बुझेर रेडियोले अगाडि बढ्नु आवस्यक छ ।

डिजिटल युगमा रेडियोको महत्व घट्दै गएको भए पनि यसको विश्वासनीयता अझै बलियो छ। सूचना र मनोरञ्जनको भरपर्दो स्रोतका रूपमा रेडियोले आफ्नो स्थान जोगाइरहेको छ। रेडियोप्रेमी स्रोताहरूले यसलाई जीवित राख्न अहम् भूमिका खेलेका छन्।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ