काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सरकारले ल्याएको अध्यादेशहरू छिटै पारित हुने बताएका छन् । फागुन ६ गते बस्ने राष्ट्रिय सभाको बैठकबाट अध्यादेशको प्रक्रिया अघि बढाइने बताए । उनले सरकारले जारी गरेको अध्यादेहरु संघीय संसद्को दुवै सदनका दर्ता भइसकेको र सत्ता पक्षीय दलहरुबीच पारित गर्ने सहमति बनेको उल्लेख गरे ।
उनले अब छिटै नै अध्यादेश पास हुने प्रक्रिया अघि बढ्ने र सत्तामा रहेका सबै राजनीतिक दलहरू सहमत रहेको बताए । भूमिसम्बन्धी अध्यादेशमा प्रतिस्थापन गर्दा सबै राजनीतिक दलहरुबीच छलफल गरेर सबैका भावना समेटिने गरी अघि बढ्ने बताए । सत्तारुढ दलहरुबीच सरकारले ल्याएको अध्यादेशहरू पारित गर्ने बारेमा शनिवार छलफल भएको हो । छलफल सकारात्मक रहेको र अध्यादेश छिटै स्वीकृत हुने बताए ।
गृहमन्त्री लेखकले भने, ‘सरकारले जारी गरेको अध्यादेहरु संघीय संसद्को दुवै सदनका दर्ता भएका छन् । ती अध्यादेशहरू संघीय संसद्को दुवै सदनबाट स्वीकृत गराउनुपर्ने भएकाले त्यसै विषयमा केन्द्रित भएर छलफल भएको छ । अरू समसामयिक राजनीतिक विषयमा पनि छलफल भएका छन् । मुख्य रूपले अध्यादेश स्वीकृत गर्ने, अध्यादेशलाई अगाडि बढाउनेबारेमा छलफल भएको छ । छलफल सकारात्मक छ । सकारात्मक रूपले निष्कर्षमा पुगेको छ । अध्यादेश पास हुने प्रक्रिया अघि बढ्छ, सबै राजनीतिक दलहरू हामी सहमत भएका छौँ । यो प्रक्रिया चाँडै अघि बढ्छ । राष्ट्रिय सभामा पनि बहुमत पुग्ने गरी नै छलफल भएको छ । सबै अध्यादेशलाई प्रतिस्थापन गर्नैपर्छ । अहिले हाम्रा बीचमा जुन अध्यादेशमा सहमति भएको छ, ती अध्यादेशहरू अघि बढ्छन् । भूमिसम्बन्धी अध्यादेशमा प्रतिस्थापन गर्दा सबै आपसमा छलफल गरेर सबैका भावना समेटिने गरी अघि बढ्छौँ ।’
गृहमन्त्री लेखकले संविधान संशोधनको विषयमा छलफल अघि बढाउने गरी कार्यदल बनाउन सहमत भइसकेको बताए । संविधान संशोधन सबै राजनीतिक दलहरूसँग संवाद, सहकार्य गरेर अघि बढ्ने बताए ।