राजाकै हैसियतमा पूर्वराजाको सन्देशः राष्ट्र जोगाउने हो भने हामीलाई साथ दिनुस् [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ७ बुधबार
1.1k
Shares
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्र जोगाउने हो भने आफूलाई साथ दिन आह्वान गरेका छन् । प्रजातन्त्र दिवसको अवसरमा भिडियो सन्देश जारी गर्दै पूर्वराजा शाहले राजाकै हैीसयतमा बोल्दै देशको समृद्धि र उन्नतिका लागि आफूलाई साथ दिन आह्वान गरेका हुन् ।
‘उनले सन्देशमा भनेका छन्, ‘हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस् भनेर त्याग गरेका हौँ। अब नेपालको उन्नतिको लागि हामीबाट अरु के–के त्याग गर्नुपर्ने हो हामी तयार छौँ ।’
उनले अगाडि भने, ‘अब समय आयो, राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कामय राख्ने हो भने, देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशबासीलाई आह्वान गर्दछौँ।’
उनले यसअघि गरेको त्यागलाई कमजोरीको रुपमा नलिन चेतावनीसमेत दिएका छन् । उनले भनेका छन्, ‘‘हाम्रो यो नेपाल देशभक्त पूर्खाहरुले फलाएको र फुलाएको सुन्दर राष्ट्र हो। यो राष्ट्रमा कुनै संकट नआओस् भन्ने हाम्रो परिकल्पना हो। त्यसैले राष्ट्रको हितमा हामीले उदारता राख्दै आयौँ। त्यति मात्रै होइन, हामीले जनताको भलो होस् भनेर आफ्नो ओहोदा, सुख सुविधालाई पनि त्याग गरेका हौँ। त्यागले कसैको कद सानो हुने होइन । त्यस्तो भाव कसैले पनि कमजोरी ठान्नु हुँदैन। कतै कुनै पन पक्ष नगरी सबैलाई समेटेर जाने हाम्रो अभिलाशा हो। हाम्रो त्यागको अर्थ, आशय पनि त्यही नै हो ।’
नोटः (भिडियो सन्देश पूर्वराजाको संवाद सचिवालयले पठाएको हो । यसमा लेखिएका शब्दहरुसमेत जस्ताको त्यस्तै राखिएको छ ।)