प्रकृतिको न्यायका लागि पुल्चोक क्याम्पसका विद्यार्थीले गरे हस्ताक्षर संकलन
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ७ बुधबार
631
Shares
काठमाडौँ । भारतको उडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा मृत भेटिएकी बुटवलकी प्रकृति लम्सालका लागि न्यायको माग गर्दै पुल्चोक क्याम्पसका विद्यार्थीले विरोध र्यालीसँगै हस्ताक्षर संकलन गरेका छन् ।
नेविसंघ पुल्चोकले आयोजना गरेको विरोध र्यालीमा क्याम्पसका विद्यार्थीहरु सहभागी भएका हुन् । पुल्चोक क्याम्पसबाट शुरु गरी लबिम मल हुँदै हरिहर भवनबाट पुनः पुल्चोक क्याम्पस डिन कार्यालयमा आएर र्याली सकिएको थियो ।
त्यसपछि विद्यार्थीले क्याम्पस गेटमा हस्ताक्षर गरेका हुन् । हस्ताक्षर संकलनमा क्याम्पसमा उपलब्ध धेरै विद्यार्थीहरुको उपस्थिति रह्यो ।
पुल्चोकका विद्यार्थीले ‘प्रकृतिलाई न्याय दे’, ‘निष्पक्ष छानबिन गर’ लगायतका प्लाकार्डसहित दबाबमूलक प्रदर्शन गरेका हुन् ।
‘प्रकृति लम्सालले न्याय पाऊन् र यस्तो घटना फेरि कहिल्यै नदोहोरियोस् भन्नका लागि हामीले विरोध प्रदर्शन गरेका हौँ’, नेपाल विद्यार्थी संघ पुल्चोक क्याम्पसका इकाई सभापति विक्रम भण्डारीले भने ।
अन्य विद्यार्थीहरूले पनि आफूहरु प्रकृतिको न्यायको लागि उपस्थित भएको जनाए ।