पीयूका सात हजार नौ सय विद्यार्थी दीक्षित, इमानदार भएर देशका लागि काम गर्न प्रधानमन्त्रीको आग्रह
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ८ बिहिबार
771
Shares
गण्डकी । पोखरा विश्वविद्यालयको २०औँ दीक्षान्त समारोहबाट सात हजार ८७२ विद्यार्थी दीक्षित भएका छन् । पोखरा महानगरपालिका–३० ढुङ्गेपाटनस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहबीच विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीहरुलाई दीक्षित गराएका हुन् ।
सो विश्वविद्यालय अन्तर्गतका विभिन्न क्याम्पसबाट स्नातक, स्नातकोत्तर र विद्यावारिधि तह उत्तीर्ण गरको विद्यार्थी आज दीक्षित भएका हुन् । पोखरा विश्वविद्यालयअन्तर्गत देशभर सञ्चालित क्याम्पसहरूबाट विभिन्न ६८ विधामा करिब ४० हजार विद्यार्थी अध्ययनरत रहेको सो विश्वविद्यालयले जनाएको छ ।
के भने ओलीले ?
प्रधानमन्त्री केपी शर्मा ओलीले ज्ञान, दर्शन, योग र खोजको उद्गमस्थल नेपालमा दीक्षित विद्यार्थीले सदैव इमानदार भएर देशका लागि काम गर्नुपर्नेमा जोड दिएका छन् ।
दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आत्मविश्वासका साथ इमानदार भई समाजका लागि सकारात्मक काममा आफूले प्राप्त गरेको ज्ञानको उपयोग गर्न दीक्षित विद्यार्थीसँग आग्रह गरे ।
“इमानदारिताले मात्रै सकारात्मक सफलता पाउन सकिन्छ । बेइमानी गरेर पाएको सफलता समाजका लागि उपयोगी हुँदैन । तपाईंहरुले राम्रो पढेको हो भने पनि त्यसलाई समाजमा नकारात्मकता, चोरी, ठगीजस्ता अपराधका काममा प्रयोग गरेमा त्यसलाई सफलता मान्न सकिँदैन,” कुलपति ओलीले भने, “तपाईंहरु समाज र देशका लागि उपयोगी हुनुपर्छ । आफ्ना लागि मात्रै गर्न खोजेमा स्वार्थी भइन्छ । देश र समाजका लागि केही गर्नुस् । नागरिक सर्वोच्चताको गर्व तपाईंहरुमा होस् ।”
उनले सानो देशमा छु भन्ने हीनताबोधी भावना नराख्न आग्रह गर्दै कुनै पनि देशको सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन भन्ने विषयमा स्पष्ट भई सदैव नेपाल र नेपालीलाई केन्द्रमा राखेर काम गरौँ भने । “हात्ती देख्ने बित्तिकै भागेमा माउते हुन सकिँदैन । हात्तीलाई तालिम दिएर माउते हुने कोसिस गर्नुस् । साहसी हुनुस्, दुस्साहासी नहुनुस्”, प्रधानमन्त्री ओलीले भने, “हामीसँग उर्वर भूमि छ । यसलाई रुपान्तरणकारी विकासमा लान सकिन्छ । यस काममा विश्वविद्यालय लागोस् । सरकार विश्वविद्यालयको साथमा छ ।”
उनले कुलपति पदकबाट सर्वोत्कृष्ट विद्यार्थीलाई पुरस्कृत पनि गरे । रासस