‘जनतासँग माओवादी जागरण अभियान’ फागुन १२ गतेदेखि [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ९ शुक्रबार
722
Shares
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले यही फागुन १२ देखि हुलाकी राजमार्ग केन्द्रित ‘जनतासँग माओवादी जनजागरण अभियान’ शुरु गर्ने भएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टीले फागुन १२ गतेदेखि हुलाकी राजमार्ग केन्द्रित जागरण अभियान शुरु हुने जनाएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले हुलाकी राजर्मग केन्द्रित जागरण अभियानको शुभारम्भ नेपालको सबैभन्दा होचो ठाउँ झापाको केचनाकवलबाट गरिने बताए । उनले अभियानको समापन चैत्र ८ गते कञ्चनपुरमा पुगेर गरिने बताए । उनकाअनुसार तराई क्षेत्रका नागरिकहरूले भोग्नुपरेका समस्याहरूको बारेमा जागरण अभियान केन्द्रित हुनेछ ।
उनले भने, ‘जनतासँग माओवादी हुलाकी राजमार्ग तराई-मधेस जागरण अभियान फागुन १२ गते नेपालको सबैभन्दा होचो ठाउँ झापाको केचनाकवलबाट शुरु हुँदैछ । र त्यो अभियान आउँदो चैत्र ८ आठ गते कञ्चनपुरमा समाप्त हुनेछ । यो अभियान खासगरि तराई-मधेस जागरण अभियान हुनेछ । र यसमा हुलाकी मार्गलाई आधार बनाएर सुरु गरिने छ । अभियान क्रममा तराई क्षेत्रका नागरिकहरूले भोग्नुपरेका समस्याहरूमा हामी केन्द्रित उनेछौँ । त्यसमा हामी अध्यक्ष र उपमहासचिवसम्म त्यहाँ जानेछौँ । अभियानका क्रममा सांस्कृतिक टोली पनि समावेश गरिनेछ । त्यस अवधिभर हामी जनताकै घरमा बस्नछौं ।’
अभियानअन्तर्गत फागुन १२ गते झापा भेटघाट, अन्तरक्रिया तथा सभा हुने बताइएको छ । फागुन १३ मा मोरङमा भेटघाट, अन्तरक्रिया तथा सभा गर्ने कार्यतालिका छ । फागुन १५ मा सुनसरीमा भेटघाट, अन्तरक्रिया तथा सभा हुनेछ । अभियान फागुन १६ देखि २४ सम्म मधेस प्रदेशमा हुनेछ । फागुन १६ मा सप्तरी, १७ गते सिराहा, १८ गते धनुषा, १९ गते महोत्तरी, २१ गते सर्लाही, २२ गते रौतहट, २३ गते बारा र २४ गते पर्सामा आमसभा, भेटघाट र अन्तरक्रिया बताइएको छ ।
फागुन २५ गते चितवनको भरतपुरमा सभा तथा अन्तरक्रिया हुनेछ । नवलपुर (नवलपरासी पूर्व) मा फागुन २६ गते सभा हुनेछ भने २७ गते लुम्बिनी प्रदेशको नवलपरासी पश्चिममा सभा, भेटघाट र अन्तरक्रिया कार्यक्रम हुने प्रवक्ता सापकोटाले बताए । २८ फागुनमा रुपन्देहीमा कार्यक्रम हुनेछ भने चैत २ मा कपिलवस्तु र ३ चैतमा दाङमा कार्यक्रम आयोजना हुनेछ । त्यस्तै ४ चैतमा बाँके, ५ गते चैतमा बर्दिया, ६ चैतमा कैलाली र ७ चैतमा कञ्चनपुरमा कार्यक्रम गरी अभियानको समापन पार्टीले जनाएको छ ।