arrow

प्रचण्ड सहितका नेताहरुको अभियान टोली मोरङमा, शहीदका परिवार भेटेर जोडिने योजना

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १३ मंगलबार
prachanda-abhiyan-81-11-13.jpg

मोरङ । नेकपा माओवादी केन्द्रले सोमबारदेखि शुरु गरेको जनतासँग माओवादी तराई मधेस जागरण अभियानको केन्द्रीय टोली आज दोस्रो दिन मोरङ पुगेको छ। 

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितका केन्द्रीय पदाधिकारीहरुले मोरङको कानेपोखरी गाउँपालिका ६ नर्सरीडाँडास्थित शहीद लक्ष्मी फुयालको घरमा पुगेर शहीद परिवारसँग भेटघाट गरी आजको कार्यक्रम शुरु गरेका हुन् ।

सो अवसरमा अध्यक्ष प्रचण्डले जनयुद्धका सबै शहीदलाई राष्ट्रिय शहीद घोषणा गरिएको उल्लेख गर्दै सत्यनिरूपण तथा मेलमिलाप आयोग भने भने पीडित परिवारलाई न्याय र परिपूरणको व्यवस्था हुने बताए । 

शहीद परिवारका सदस्यहरुले आफ्ना परिवारका सदस्यको रगत खेर जान नदिन माओवादी पार्टीलाई बलियो बनाउनुपर्ने, उनीहरुको सपना पूरा गर्नुपर्ने, हरेक वर्ष स्मृति दिवस मनाउन पार्टीले क्यालेन्डर बनाउनुपर्ने, शहीदको गाउँमा सहिद पार्क बनाउनुपर्ने सुझाव दिएका थिए ।

अभियानअन्तर्गत केन्द्रीय टोलीले एक दिन, एक जिल्ला, एक जिल्ला तीन मुख्य कार्यक्रम गर्दै छ। जसअनुसार आज मोरङको कानेपोखरीको रमाइलो बजार, आमबारी रतुवामाई र कर्सिया धनपालथानमा सभा गरिँदैछ भने शहीद परिवार तथा अन्य समुदायगत भेटघाट आयोजना गरिएको छ ।

यता माओवादी केन्द्रले शुरु गरेको जनतासँग माओवादी तराई मधेस जागरण अभियानको कार्यक्रम हुने दिन विद्यालय बन्द गरिदिन दबाब दिएको छ । 

मोरङको कानेपोखरीमा प्रचण्ड सहितका नेताहरु आउने र जागरण सभा गर्ने भन्दै कानेपोखरी गाउँपालिकामा रहेका विद्यालय बन्द गर्न माओवादीले पत्र पठाएको हो ।

माओवादी केन्द्र कानेपोखरीका अध्यक्ष दुर्गाबहादुर कार्कीले पत्र नै पठाएर वरिपरिका विद्यालय बन्द गर्न दवाब दिएका हुन् । स्थानीय तह निर्वाचनमा कानेपोखरी गाँउपालिकामा एक जना पनि जनप्रतिनिधि माओवादीबाट निर्वाचित भएका छैनन् ।

सोमबार झापाबाट शुरु भएको माओवादीको यो अभियान आज मोरङमा हुँदैछ भने १५ गते सुनसरीमा गर्ने तालिका रहेको छ । माओवादीले देशभर चैत ७ गतेसम्म यो अभियान गर्ने तालिका नै प्रकाशित गरेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ