क्रिकेट रङ्गशालामा पहिलो पटक 'फ्लड लाइट' जडान [भिडियो]
फागुन २५ गतेदेखि शुरु हुने प्रधानमन्त्री कप क्रिकेटका ४६ मध्ये १५ खेल यही मैदानमा हुने, प्रधानमन्त्रीले नै शपथको दिन गरेको पहिलो निर्णय अझै टुंगोमा पुगेन, ३०० दिनमा सक्ने भनिएको त्रिविको फ्लडलाइट २२५ दिनसम्म जोडिएन
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १३ मंगलबार
513
Shares
काठमाडौँ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निजीस्तरबाट बनिरहेको एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा फ्लड लाइट जडानको काम सकिएको छ । मैदानमा ५ वटा फ्लडलाइट जडान गरिएको छ ।
नेपालको कुनै पनि क्रिकेट मैदानमा फ्लड लाइट हालिएको यो पहिलो हो । ७ करोड रुपैयाँ भन्दा बढी खर्च गरी जडान गरिएको फ्लड लाइट टेस्टिङको काम आजैदेखि शुरु हुने स्टेडियमका प्रबन्ध निर्देशक विनोद कुँवरले जानकारी दिए ।
२०८० साल जेठ २९ गते शिलान्यास भएको स्टेडियमको ०८० फागुन २८ मा गते उद्घाटन गरी लिजेण्ड्स कप क्रिकेट प्रतियोगिता आयोजना गरिएको थियो । त्यसयता यो मैदानमा जिल्ला र स्थानीय स्तरमा सय भन्दा बढी खेल भइसकेका छन् । नेपालको १९ वर्ष मुनिको विश्वकप खेलेको महिला टोली र नेपाल प्रिमियर लिग टिम लुम्बिनी लायन्सले यो मैदानमा अभ्याससमेत गरेको थियो । यही फागुन २५ गतेदेखि शुरु हुने प्रधानमन्त्री कप क्रिकेटका ४६ मध्ये १५ खेल यही मैदानमा हुनेछन् ।
प्रधानमन्त्री कपका लागि पनि अहिले मैदानमा आवश्यक काम चलिरहेको छ । नेपाल क्रिकेट सङ्घ क्यानले प्रधानमन्त्री कप क्रिकेटका लागि एक्स्ट्राटेक ओभललाई छनोट गरेकोमा खुशी लागेको प्रबन्ध निर्देशक कुँवरले बताए । सात वटा पिच रहेको मैदानमा अब खेल हुने मात्रै नभई नेपालमै पहिलो फ्लड लाईटमा डे नाइट म्याच हुने चरणमा प्रवेश गरेको छ ।
केही दिनमा लाइट टेस्टिङको काम सकेर डे नाइट म्याचका लागि तयार हुनेछ । आवश्यक परे लाइटको क्षमता थप्ने तयारीका साथ आफूहरू बसिरहेको र सम्बद्ध निकाय अनि खेलाडीबाट समेत त्यसको परीक्षण गराइने प्रबन्ध निर्देशक कुँवरले बताए ।
एकातिर मैदान तयार भएर फ्लड लाइटको काम चलिरहेको छ भने अर्कोतिर अरू संरचना निर्माणको काम पनि तीव्र गतिमा भइरहेको छ । नेट प्राक्टिसका लागि पनि पिच अन्तिम चरणमा पुगेको छ ।
नेट प्राक्टिसका लागि छ वटा पिच बनिरहेका छन् । अहिलेसम्म मैदानमा जग्गाबाहेक २५ करोड रुपैयाँ भन्दी बढी खर्च भइसकेको कुँवरले बताए । चार तलाको २ वटा भवन बनिरहेका छन् । जहाँ भीआईपी बक्स प्लेयर बक्स, चेन्जिङ रुम र मिडिया बक्स हुनेछन् । र यी संरचनाको काम अन्तिम चरणमा छ । भीआईपी बिल्डिङमा नौ सय सिट क्षमताको पारापिट बन्नेछ ।
आगामी २ वर्षभित्र सक्ने लक्ष्य रहेको यो मैदानमा २५ हजार दर्शक क्षमताको प्यारापिट बन्नेछ । यो काम केही समयमा शुरु हुने कुँवरले बताए । उनका अनुसार ५ हजार दर्शक क्षमता सहितको पारापिट एक वर्षभित्रै तयार भइसक्नेछ ।
यता सरकारले थालेको त्रिविको फ्लडलाइडको योजना भने अझै अलपत्र छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले शपथ खाएपछिको पहिलो निर्णय नै त्रिवि मैदानमा ३०० दिनभित्र फ्लडलाट जडान गर्ने गरेका थिए ।
उनले कार्यकाल सम्हालेको पनि साढे सात महिना भइसकेको छ । यो विषयले मंगलबार पनि संसद बैठकमा स्थान पाएको छ । रास्वपा सांसद मनिष झाले प्रश्न उठाएका हुन् ।