arrow

बाँदरकाण्ड

logo
प्राडा बाबुराम पोख्रेल, 
प्रकाशित २०८१ फागुन १७ शनिबार
badarkanda-baburam-pokhrel.jpg

२०१९ सालको शुरूको कुरा हो । हाइस्कूलमा एउटा उत्तेजनापूर्ण भयो । त्यो थियो खास अर्थहीन घटना । त्यतिखेर भेषराज शर्मा प्रधानाध्यापक हुनुहुन्थ्यो । २–४ दिन उहाँले बिदा लिनु भएकाले म निमित्त प्रअ भएँ । 

त्यस दिन घटना हुँदा काम विशेषले चारै बजे म डेरातिर लागेँ । भएछ के भने एक जना पुलिसले एउटा बाँदरको बच्चा लिएर बजारमा घुमिरहेको रहेछ । 

हाम्रो स्कूलको सानो विद्यार्थीले बाँदरको बच्चालाई टुक्क हानेर जिस्क्याएछ । त्यत्ति गल्ती भए पनि बालकको स्वभावतः चञ्चले प्रकृतिसँग अपरिचित अनपढ पुलिसले त्यस बालक विद्यार्थीको गालामा एक थप्पड दिएछ । 

हाइस्कूलको प्राङ्गणको मैदानमा फुटबल खेलिरहेका विद्यार्थी समूहको अगाडि त्यो रुँदै गयो । सारा विद्यार्थीहरु जम्मा भएर नारा लगाउँदै थानामा गएर एक जना हबल्दारलाई पिटपाट गरेपछि होहल्ला मच्चिन थाल्यो । 

सेनाका प्रमुख क्याप्टेन रामबहादुर थापाले सम्झाइ बुझाइ गरेपछि उत्तेजना शान्त भयो । 

मेरो डेरा अलि पर पर्ने हुनाले अर्को बिहान मात्र मैले थाहा पाएँ र १० बज्न बाँकी छँदै स्कूल पुगेँ । रणबहादुर थापा नामका पिउन थिए । हाजिरी घण्टी लगाउन पठाएँ तर शिक्षक, कर्मचारीहरु बाहेक कोही उपस्थित भएन । 

विद्यार्थी स्कूल परिसरभित्रै ग्राउण्डमा फर्निचर जम्मा गरेर मञ्च बनाए अनि भाषण गर्न थाले । मैले भएको बेहोरा उल्लेख गरिएको पत्र अध्यक्ष (बडाहाकिम) कहाँ पठाएँ । 

बडाहाकिमले सोधपुछ गर्दा सरकारी कर्मचारीहरुले समेत यस काण्डमा मेरो कुनै हात नभएको कुरा बताएछन् । 

दिउँसो अड्डाप्रमुखहरुको मिटिङमा मलाई बोलाइयो । मेरो अनुपस्थितिमा जरी यो घटना घट्यो सबै बताएँ । 

विद्यार्थीहरु प्रशासन विरोधी नारा लगाउँदै जुलुसको रुपमा तम्घासभरि घुमे । 

साँझपख म डेरातर्फ लागेँ । उत्तिखेरै इन्सपेक्टर चक्रप्रताप राणा बाहिर गएका थिए । घोडा कुदाउँदै आएछन् र शिक्षक एवं विद्यार्थीहरुलाई थानामा थुनेछन् । 

राति थाहा पाएँ र नेतृत् वगर्ने विद्यार्थी ताराप्रसाद भण्डारी र अरुको खबर बुझ्न विद्यार्थीहरुलाई पठाएँ । ताराप्रसाद लुकेको ठाउँ थाहा पाएँ । सबै ठीकै छन् भन्ने त भयो तर रातभर निद्रा लागेन । 

अर्को दिन १० बजे स्कूल जाँदा थानामा पसेँ । इन्सपेक्टरले झोक्किँदै ‘क्या हो गुरु यस्तो गर्ने ?’ भनेर कुर्सीमा बस्न भने । 

मैले भनेँ – ‘सबै कुरा यहाँले बुझ्नुभएको होला । त्यस्तै हो विद्यार्थी जोश, बच्चाहरुको गल्तीलाई क्षमा गर्नुपर्यो ।’ 

उनले भने – ‘यस्तो परिस्थितिमा नाराजुलुस गर्न मिल्छ ?’ मैले भने –‘त्यसै भएर त तपाईँसँग अनुरोध गर्नुपरेको हो । कृपया यसलाई अगाडि नबढाऊँ ।’

उनले भने – ‘त्यसो भए के हुन्छ ?’ पञ्चायती प्रशासनको मात देखाए । 

मैले भने – ‘परिणाम के हुन सकछ अहिले के भन्न सकिन्छ ।’

त्यसपछि उनी र म बडाहाकिमको क्वाटरमा गएर कुराकानी गर्यौँ । थुनिएका शिक्षकको जिम्मा मैले लिएकाले उनीहरु छुटे । 

विद्यार्थी केटोलाई पिट्ने पुलिसले सम्पूर्ण शिक्षक एवं विद्यार्थी समक्ष माफी माग्नुपर्ने र ताराप्रसादलाई सुरक्षित रुपमा बडाहाकिमसमक्ष प्रस्तुत गर्ने निर्णय भयो । 

त्यसै दिन सबै शिक्षक एवं विद्यार्थी समक्ष पुलिसले माफी माग्यो । 

अरु २–३ दिनपछि ताराप्रसादलाई गुप्तबासबाट बाहिर निकालियो । बडाहाकिमले केही दिन मेरो जिम्मामा रहने गरी उनलाई छाडिदिए । 

यस कार्यमा गुल्मी जिल्लाका तात्कालीक सभापति मित्रबहादुर रायमाझी र मानबहादुर ज्ञवालीले ठूलो सहयोग गरेका थिए । 

अनुशासनको ज्यादै कडाइका साथ पालना गर्नुपर्ने पञ्चायती व्यवस्थाको शुरुमा बन्देज लगाइएका त्यस प्रकारका नारा जुलुस गर्नु ठूलै अपराध ठहरिन्थ्यो । 

तर पुलिस इन्सपेक्टरको ज्यादतीले विद्यार्थी र शिक्षकवर्ग असन्तुष्ट भएको थियो । अतः यो बाँदरकाण्ड निकै चर्चित र गम्भीर बन्न पुग्यो । 

मन्त्रिपरिषद्का अध्यक्ष तुलसी गिरी हेलिकोप्टर लिएर वातावरण बुझ्न तम्घास पुगे । भेषराजजी उपस्थित भैसक्नुभएको थियो । 

स्कूल मैदान चिदीचौरमा सबै जम्मा भए । भेषराजले अध्यक्षको अगाडि इन्सपेक्टरलाई यसरी झपार्नुभो कि उनी बोल्न सकेनन् । त्यसपछि वातावरण धमिलिएन । (स्वर्गीय प्राडा पोख्रेलको आत्मवृत्तान्त ‘भए गरेका कुरा’ बाट) 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ