प्रसिद्ध सिद्धेश्वर शिवपञ्चायन मन्दिर संरक्षण गर्दै स्थानीय
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १९ सोमबार
590
Shares
भोजपुर । जपुरको टेम्केमैयुङ गाउँपालिका– ५ मझौलेमा रहेको सिद्धेश्वर शिव पञ्चायन मन्दिरको संरक्षणमा स्थानीयवासी जुटेका छन् । धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना भएको यो देवस्थलको प्रचारप्रसारसँगै संरक्षणमा स्थानीयवासी जुटेका हुन् । स्थानीय युवाको सक्रियतामा यो मन्दिरको संरक्षण भइरहेको छ । स्थानीयवासीले वडा कार्यालयबाट प्राप्त बजेटबाट घेराबारा गरेका हुन् । सरोकारवाला पक्षसँग बजेट मागसँगै स्थानीयबाट श्रमदान गरेर मन्दिरको संरक्षण गरिरहेको टेम्केमैयुङ– ५ का गजलेका स्थानीयवासी रमेश विष्टले बताए ।
अहिले वडाबाट प्राप्त रु दुई लाख र श्रमदानमार्फत रु ५० हजार गरी करिब रु दुई लाख ५० हजार बजेटबाट मन्दिरमा बाह्र मिटर चौडाइ, २० मिटर लम्बाइ र डेढ मिटर उचाइ बराबरको घेराबारा गर्ने काम सम्पन्न भएको उनले जानकारी दिए ।
“सिद्धेश्वर शिव पञ्चायन मन्दिरको संरक्षणमा जुटेका छौँ” उनले भने,“मन्दिरमा घेराबारा नहुँदा पशुचौपाया पस्ने तथा मन्दिरको असुरक्षा बढेकोले संरक्षण गरेका हौँ । मन्दिरको संरक्षण तथा प्रचारप्रसारमा स्थानीयवासी जुटेको छौँ । श्रमदानसँगै विभिन्न निकायमा बजेट माग गरेर मन्दिरको संरक्षण गरिरहेका छौँ ।”
मन्दिरको शिरमा प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र टेम्केडाँडा रहेकोले यो मन्दिरमा आन्तरिक तथा बाह्य पर्यटनको राम्रो सम्भावना रहेको स्थानीयवासी शिवकुमार विष्टले बताए । यो क्षेत्रको विकासका लागि गाउँका युवा एकजुट भएर संरक्षण तथा विकास लागेको उनको भनाइ छ । यो मन्दिर टेम्केको काखमा रहेकाले नेपाल सरकारको एक सय गन्तव्यभित्र पर्न सफल ‘मुन्दुम पदमार्ग’लाई यो क्षेत्र भएर विस्तार गर्न आवश्यक रहेको उनको भनाइ छ ।