संसदमा भिड्न विपक्षी दलहरुको रणनीति, प्रचण्डले पार्टीको अभियान नै गरेर स्थगित
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २१ बुधबार
2.9k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । प्रतिनिधि सभाको बैठक बसिरहेको छ । बैठकअघि विपक्षी सात दलको बैठक सिंहदरबारमा बसेको छ । प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डाकेको बैठकमा सरकारले प्रतिनिधि सभामा पेस गर्ने पाँच वटा अध्यादेशको विषयमा कसरी अघि बढ्ने भन्ने छलफल भएको हो ।
बैठकमा माओवादीसहित, एकीकृत समाजवादी, रास्वपा, राप्रपा र आजपालगायतका दलहरु रहे । आजको प्रतिनिधि सभा बैठकमा पाँच वटा अध्यादेश निर्णयार्थ पेस गरिने कार्यसूची रहेसँगै संसद्अघि प्रचण्डले विपक्षी दलसँग छलफल गरेर अध्यादेशबारे निर्णय गर्न खोजेका हुन् ।
विपक्षी दलहरूले प्रतिनिधि सभामा अध्यादेश अस्वीकार गरियोस् भन्ने प्रस्ताव राख्ने भएका छन् । त्यसका लागि विपक्षी दलका सांसदहरूले सूचना दर्ता गरिसकेका छन् ।
बुधबारको बैठकमा भानुभक्त जोशी, स्वर्णिम वाग्ले, माधव सापकोटा, रणेन्द्र बराली र चन्दा कार्कीले अध्यादेश अस्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । ‘यसअघि विपक्षी सात दलको संयुक्त बैठकले अध्यादेश अस्वीकृत गर्ने निर्णय गरेको थियो ।
आजको बैठकमा सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ र सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ निर्णयार्थ पेस हुने भएको छ । तर सरकारले भूमिसम्बन्धी अध्यादेश भने अघि नबढाउने भएको छ ।
प्रचण्ड पार्टीको अभियान नै छाडेर काठमाडौँ फर्केका हुन् ।