आवश्यकमध्ये करिब ४० प्रतिशत कागज नेपालमै उत्पादन हुने
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २२ बिहिबार
865
Shares
काठमाडौँ । नेपालकै सबैभन्दा ठूलो कागज उद्योग सञ्चालनमा आएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष एवं आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालको लगानीमा महोत्तरीमा नेपालकै सबैभन्दा ठूलो कागज उद्योग आजबाट पूर्ण रूपमा सञ्चालनमा गर्न लागिएको हो । विशेष गरी वित्तीय, पर्यटन, अटोमोबाइल, सूचना प्रविधि र ऊर्जा क्षेत्रमा संलग्न रहेको आईएमई ग्रुपले आजबाट कागज कारखाना सञ्चालन गरेको छ ।
‘नेपाल पल्प एण्ड पेपर इण्डस्ट्रिज प्रा.लि.’ ले सञ्चालनमा ल्याएको कागज कारखानामा आईएमई ग्रुपको २ अर्ब बढी लगानी रहेको छ । महोत्तरीको गौशाला नगरपालिका १ स्थित रामनगरमा रहेको यस उद्योगमा सबै नेपाली लगानीकर्ताहरूको लगानी छ । २०७८ मा शिलान्यास भएको यो उद्योगले निर्माण प्रक्रिया सकिएर २०८१ पुसदेखि उत्पादन शुरु गरिसकेको छ ।
अध्यक्ष ढकालले उद्योगले आयात प्रतिस्थापन गर्दै स्वदेशमै ठूलो रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको बताए । नेपालमा वार्षिक झन्डै डेढ लाख मेट्रिक टन कागज खपत भइरहेको छ । नेपालमा कागज उद्योग नहुँदा अहिले सबै कामका लागि आवश्यक कागज आयात गर्नुपर्ने अवस्था रहेकाले निजी क्षेत्रले लगानी गरेर अगाडि बढाउन लागिएको बताए ।
उनले सरकारले अध्यादेशमार्फत निजी क्षेत्रको लगानी प्रवर्द्धन गर्ने गरी कानूनमा सुधार गरेकाले पनि अहिले लगानीको वातावरण बनेको जिकिर गरे । उनले नेपालमा लगानीको वातावरण नरहेको भन्ने भाष्य चिर्न पनि कागज उद्योग महत्त्वपूर्ण हुने बताए ।
उनले भने, ‘खास गरेर कोभिड, रसिया युक्रेन र श्रीलंकको अवस्था पछाडि आर्थिक क्षेत्रमा मन्दी आयो । त्यससँगै उद्योग वाणिज्य महासङ्घको अध्यक्षको जिम्मेवारी लिएपछि नेपालमा लगानी गर्ने वातावरण गर्ने विषयमा आह्वान गर्न धेरै देशमा गएर एड्भोकेसी गरिरहेका छौँ । महासङ्घको तर्फबाट धेरै प्रयास गरिरहँदा सरकारले पनि टेडिसनल कानूनहरु अध्यादेशमार्फत परिवर्तन गर्न पहल गरेको छ । त्यो आफैँमा सकारात्मक रुपमा भएको र निजी क्षेत्रले त्यसको स्वागत पनि गरेको छ । हामी वातावरण छैन, अवसर छैन भन्ने कुरा चिर्नको लागि नेपालमा धेरै सम्भावना छ, उत्पादनशील क्षेत्रमा लाग्न सकिन्छ भनेर वेस्ट्रेज पेपरहरूबाट नेपालमा कागज कारखाना खोलेका छौँ । स्थानीय मेटेरियल प्रयोग गरेर नेपालमा उत्पादन गर्नुपर्छ भन्ने उद्देश्यले कागज कारखाना आजबाट शुरु गरिरहेका छौँ । वातावरण प्रदूषण गर्ने फोहोर चिजहरूबाट यो बनाइएको हो । चीन, भारत लगायत छिमेकी मुलुकहरूको बीचमा हामी छौँ । पर्यटनको हिसाबले प्रमोट गर्न सक्ने हाम्रा हिल स्टेसनहरू छन् । त्यहाँ धेरै भन्दा धेरै मानिसलाई रोजगारी दिने । धेरै भन्दा धेरै कृषि उपजलाई पर्यटकले प्रयोग गर्न सक्ने र पूर्वाधार त्यसैअनुसार निर्माण गर्ने योजनाअनुसार निजी क्षेत्रले लगानी गरेर अघि बढाउन खोजेको छ । यसलाई सबै राजनीतिक दल, सबै जनसमुदाय र आम सर्वसाधारणले यसमा साथ दिनुपर्छ । आउने दिनमा सबै सर्वसाधारणहरूले यसबारे बुझ्नुहुनेछ ।’
विद्यालय,क्याम्पसमा लेख्ने–पढ्ने कापीदेखि फोटोकपी, ट्वाइलेट र टिस्यु पेपरसम्ममा समेत नेपाल परनिर्भर अवस्थामा छ । तर अब उद्योग सञ्चालनमा आएसँगै पहिलो वर्षमै नेपालका लागि आवश्यकमध्ये करिब ४० प्रतिशत कागज नेपालमै उत्पादन हुनेछ । उद्योगले स्वदेशी कच्चापदार्थ र जनशक्ति परिचालन गरी स्वदेशमै उच्च गुणस्तरीय कागज उत्पादन गर्ने दाबी गरेको छ ।