ओलम्पिकको पेसी धकेलियो, ओसीएको छलफल सोमबार, सबै कुवेत जाने
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २२ बिहिबार
10.9k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । नेपाल ओलम्पिक कमिटीको विवादबारे उच्च अदालत पाटनमा चलिरहेको मुद्दाको पेसी दुई साताका लागि पछाडि धकेलिएको छ । बुधबारको पेसी स्थगित भएसँगै दुई साता पर धकेलिएको हो ।
ओलम्पिकमा मान्यता पाउनु पर्ने माग गर्दै पाँच संघले अदालतको ढोका ढक्ढकाएका हुन् । साथै सर्वोच्च अदालतको आदेश विपरीत निर्वाचनसमेत गरिएपछि ओलम्पिक थप विवादमा छ ।
सोही विवाद समाधान गर्न ओलम्पिक कमिटी अफ एसिया (ओसीए) ले सम्बन्धित सबै पक्षसँग छलफल गर्ने भएको छ । उक्त छलफल आगामी सोमबार (मार्च १० तारिख) हुनेछ ।
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले ओसीएलाई विवाद मिलाउने जिम्मा दिएको हो ।
उक्त छलफलका लागि निवर्तमान अध्यक्ष एवं हाल गरिएको विवादित निर्वाचनबाटसमेत अध्यक्ष चुनिएका जीवनराम श्रेष्ठ, निवर्तमान महासचिव निलेन्द्रराज श्रेष्ठ (उनलाई नै महासचिवको सम्बोधन गर्दै छलफलमा बोलाइएको) तथा पाँच संघका पदाधिकारीलाई बोलाइएको छ ।
ती संघहरुमा नेपाल बेस बल एन्ड सफ्ट बल, नेपाल स्केटिङ एन्ड स्केल बोर्ड, नेपाल रग्बि संघ, नेपाल पेन्टाथलन संघ र नेपाल घोडचढी संघ रहेका छन् ।
आईओसीले नेपालको समस्या समाधान गर्ने जिम्मा ओलम्पिक कमिटी अफ एसिया (ओसीए) लाई दिएसँगै ओसीएले सबै पक्षलाई कुवेतमा बोलाएको हो ।
कुवेतमा जानका लागि सबैको भिसा र टिकट आइसकेको एनओसी स्रोतले बताएको छ ।
यो निर्वाचनलाई नेपाल सरकारले वैधानिकता नदिएको अवस्थामा आईओसीले नेपालका सबै पक्षसँग छलफल गर्ने जिम्मेवारी ओसीएलाई दिएको छ । संघहरूलाई पत्र लेख्दै आईओसीले सबै पक्षसँग छलफल गरेर सबै पक्षलाई स्वीकार हुने गरी समाधान निकाल्ने बताएको हो ।
दुई कार्यकाल खाइसकेका जीवनराम श्रेष्ठले तेस्रो कार्यकाल पनि अध्यक्ष हुन पाउने गरी विधान संशोधन गरेसँगै विवाद चुलिएको थियो । यद्यपि श्रेष्ठले भने आफूले सहमतिमै विधान संशोधन गरेको बताएका छन् ।
विधानका बारेमा आईओसी र ओसीएले कुनै प्रतिक्रिया नजनाए पनि निर्वाचनमा भएको विवादका कारण ठोस निर्णय दिन सकेका छैनन् ।
चुनावमा सात ओटा संघले भने भाग नै लिएनन् । ओलम्पिकका २७ संघ सदस्य छन् । त्यस्तै युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् राखेपले चुनाव रोक्न निर्देशन दिएका ष्थिए ।
विगतमा पनि ओलम्पिकले सरकारको निर्देशन पालना नगरेका उदाहरण छन् । उसले ओलम्पिक चार्टर्डलाई मान्ने भए पनि सरकारी हस्तक्षेप भइ नै रहेको छ ।
तर आफूसँगै जोडिएका संघका पदाधिकारीहरुलाईसमेत झुक्याएर चुनाव गरिएको आरोप अध्यक्ष श्रेष्ठले खेपेका छन् ।
विभिन्न स्वार्थ जोडिने भएकाले सरकारी हस्तक्षेप पहिलेदेखि नै कायमै छ । ओलम्पिकले पनि नेपालको कानून मान्दिन भन्न नपाइने खेलकुद विज्ञहरु बताउँछन् ।